Letter to Journalists
पत्रकारहरूलाई चिठी
(पत्रकार सुरेश रजकमा सम्झना र समर्पण)
आदरणीय सञ्चारकर्मी महानुभावहरू,
नमस्कार !
नेपाल राष्ट्रप्रति यहाँहरूले निर्वाह गर्दै आउनु भएको निरन्तर सेवा, समर्पण र निष्ठापूर्ण उत्तरदायित्वप्रति हृदयदेखि आभार, गहिरो कृतज्ञता र अनन्त धन्यवाद व्यक्त गर्दछु। नेपालको प्रत्येक ऐतिहासिक चरण—स्वतन्त्रताको लडाइँदेखि, प्रजातन्त्र-गणतन्त्रको यात्रा, राजनीतिक उतार–चढावदेखि, सामाजिक–आर्थिक रूपान्तरण,
विज्ञान–ज्ञान, धार्मिक-अध्यात्म लगायत अन्य सबै परिवर्तनहरुमा तपाईँहरूको योगदान विना सम्भव हुने थिएन र हुने पनि छैन।
पत्रकारिता राष्ट्रको सम्मानित चौथो अङ्ग हो। तपाईँहरू नै ती कलमका सिपाही हुनुहुन्छ जसको आवाजले सत्यलाई उजागर गर्यो, अन्यायविरुद्ध आवाज उठायो, आशा जगायो र समाजलाई मार्गदर्शन दियो। भविष्यको नेपाललाई समृद्ध र गौरवशाली बनाउन अझै पनि तपाईँहरूको भूमिका अपरिहार्य छ भन्नेमा म दृढ छु।
जीवन स्वयं एउटा विद्यालय हो — सिकाइ र अनुभूतिको अनन्त यात्रा; पत्रकारिता पनि यही यात्राको एक गहिरो अनुशासन हो, जहाँ सुधारका सम्भावनाहरू सधैं खुला हुन्छन् र चुनौतीहरू नै प्रगतिको मार्ग बनाउँछन्। असल र उत्तरदायी पत्रकारितालाई अझ सुदृढ, मर्यादित र विश्वसनीय बनाउन निरन्तर आत्ममूल्यांकन र सुधार आवश्यक छ।
म तपाईंहरूको निरन्तर प्रयत्नले पत्रकारिता क्षेत्रलाई अझ उच्च नैतिक मान्यता, जनसेवा र सत्यप्रतिबद्धताको दिशामा अग्रसर गराओस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।
राष्ट्र र जनताको निस्वार्थ सेवामा पूर्ण समर्पणका साथ, गहिरो सत्य र संवेदनशीलताको खोजीमा सदैव जागरूक, उत्साही र समर्पित रहन सकियोस् — यही प्रेरणादायी भावना भविष्यका पत्रकारहरूका लागि गौरव र अनुकरणको दीप बन्न सकोस्।
आज मानव जगत एक गहन आध्यात्मिक रूपान्तरणको महत्त्वपूर्ण चरणमा प्रवेश गरिरहेको छ। यो वैश्विक चेतनाको जागरण हो जसले सम्पूर्ण मानव सभ्यतालाई प्रेम, शान्ति र सत्य–चेतनाको नयाँ युगमा अग्रसर गराउनेछ। यस अलौकिक यात्रामा नेपाल स्वयं एक विश्व आध्यात्मिक केन्द्रका रूपमा उदाउँदैछ। सृष्टिमा परिवर्तन भइरहेको छ। कलियुगको अज्ञानताको अध्यारो घेराबाट मानव जगत उज्यालो चेतनाको संसारमा प्रवेश गर्दैछ त्यो कलियुगलाई चिर्न हामी सबैको हातमा एउटा एउटा बलेको प्रकाशमय दियो हुनेछ र यस संदेशलाई संसारमा फैलाउने सबैभन्दा निर्णायक भूमिका तपाईँहरू, सञ्चारकर्मी महानुभावहरूको काँधमा सुम्पिएको छ।
यो परिवर्तनको एउटा अंश र कार्य हामी सबै मिलेर उठाएको नारा—
“नेपाललाई विश्वका शीर्ष २० सबैभन्दा खुसी राष्ट्रहरूमा स्थापित गरौँ”— सिर्फ स्वप्न होइन, साझा संकल्प हो। यो संकल्प पूरा गर्न तपाईँहरूको कलम, तपाईँहरूको आवाज र तपाईँहरूको सक्रिय सहभागिता अपरिहार्य छ। यो अभियानको सुरुवात हामी चुहानडाँडा गाउँ आठराई तेह्रथुमबाट सुरु गर्दैछौं। यो सृष्टिका सबैभन्दा ठूलो र महत्वपूर्ण परिवर्तनमा जनपरिचालनको लागि यहाँहरूको अग्रणी जिम्मेवारपूर्ण भूमिका रहनेछ भन्ने पूर्ण विश्वासका साथ यो पत्रबाट हार्दिक अनुरोध र विनम्रतापूर्वक आह्वान गर्न चाहन्छु। यो
परिवर्तनबाट नेपाललाई विश्व रङ्गमञ्चमा एक महत्वपूर्ण राष्ट्रको रुपमा स्थापित गर्नको लागि यहाँहरु मनवचन र कर्मले समर्पित रहनुहुनेछ भन्ने पूर्ण विश्वासका साथ यो कलम बन्द गर्न चाहन्छु।
प्रिय साथीहरू, आज म अत्यन्तै भावुक हृदयले एउटा घटना सम्झन्छु—केही समय अघिको काठमाडौँमा भएको आन्दोलनमा पत्रकार सुरेश रजकको असामयिक अन्यायपूर्ण निधनले मलाई गहिरो पीडामा डुबाएको थियो। उहाँको अन्त्येष्टि क्रममा म आफैं भावविभोर हुँदै करिब १९ वर्षअघि पत्रकारका बारेमा सृजित कविता वाचन गरें—त्यो कविता मैले केवल सुरेशजीलाई नभई प्रत्येक पत्रकार आत्मालाई अपार सम्मानसाथ समर्पण गरेको छु-मेरो विश्वास छ, हरेक पत्रकार नै एउटा “सुरेश रजक” हो जसको कर्म र कर्तव्य निष्ठाले पत्रकारितालाई
परिभाषित गर्दछ। उसको सम्झनाले पत्रकारिताको सत्यलाई जीवन
दिन्छ ।
त्यसैले, आज फेरि एकपटक त्यो श्रद्धाञ्जली शब्द तपाईंहरू सबैमा यो पत्र र यो कविता मार्फत समर्पण गर्दछु—
“निडर सुरेश रजकहरू जन्मिरून्, सत्य बोलिरहुन्, र सदैव अमर रहून्।”
हार्दिक धन्यवाद !
कविता सलाम पत्रकारलाई
समाजको साझा चेतनालाई सिञ्चन गर्ने
नयाँ चेतनाको आलोक र युगबोध दिलाउने
लक्षित गन्तव्य अठोट गर्ने
परिवर्तनशील समाजको अग्रगामी अङ्ग हो पत्रकार।
कसैबाट केही नमाग्ने, निस्पक्ष सेवक
स्वच्छ समाचारहरूको मुहान
अनि सँधै विचार प्रवाहमा ताजापन ल्याउने
स्वच्छताको प्रतीक हो पत्रकार !
ए युद्ध र आतङ्क रच्नेहरू हो !
ए युद्ध र आतङ्क रच्नेहरू हो !
भाग्दैन पत्रकार,
भाग्दैन पत्रकार,
सधैँ अग्रपंक्तिमा निडर बनेर रहने
जस्तो परिस्थितिमा पनि
आफूलाई जोखिममा राखेर कर्म गर्न सक्ने
साहस र वीरताको उदाहरण हो पत्रकार ।
ऊ त कलमवीर योद्धा हो
हो ऊ त एक कलमवीर इमान्दार योद्धा हो
अन्यायको प्रतिकार गर्न झुक्तैन पत्रकार
झुक्तैन पत्रकार
हो कहिल्यै झुक्दैन पत्रकार
किनिन्न, बेचिन्न उसको सत्य दृष्टि र न्यायको महिमा
मुक्तिवाहिनी, स्वतन्त्र सेनानी हो पत्रकार।
स्वाभिमानको प्रतीक अनि जनताको मित्र
जनजीवनको आवाज, विश्वास र सोच हो पत्रकार
लुकेर होइन, झुकेर होइन, खुला बोल्ने, खुला लेख्ने
हो लुकेर होइन, झुकेर होइन, खुला बोल्ने, खुला लेख्ने
निडरताको पहिचान हो पत्रकार,
सत्य–असत्यको वकालत अनि
शान्ति, समृद्धि र प्रगतिको पाइला हो पत्रकार
कदम हो पत्रकार ।
ए सुन ! हो सुन हो !
पत्रकार केवल पत्रकार मात्र होइन
पत्रकार केवल पत्रकार मात्र होइन
राष्ट्रको चौथो अङ्ग मानिने
समाज र राष्ट्रलाई स्वतन्त्र गराउने
जनता, समाज र राष्ट्रलाइ लाई न्याय दिलाउने
निस्वार्थ राष्ट्र सेवक,
राष्ट्रको अभिमान हो पत्रकार ।
संवेदना बोकेको अन्तर्यामी चेतना बलेको
ज्योती हो पत्रकार !
मुक्तिको अनन्त शक्ति हो पत्रकार
सभ्यता र संस्कृतिको अघोषित संरक्षक
मानवअधिकार र लोकतन्त्रको मसिहा हो पत्रकार
हो मानवअधिकार र लोकतन्त्रको मसिहा हो पत्रकार ।
हे अखण्ड भूमि, वीरहरूको भूमि, स्वाभिमानीहरूको भूमि,
गौरवशालीहरूको भूमि, वीर गोर्खालीहरूको भूमि, सृजनशीलहरूको भूमि,
प्रेमी, ध्यानी, ज्ञानी, योग
अनि शान्त
नेपाली जातिहरूको, नेपाली भाषीहरूको उद्गम भूमि
पवित्र तपोभूमि
नेपाल अधिराज्यका नहुनुभएका हुनुभएका
नरहनुभएका रहनुभएका
आदरणीय पत्रकारहरू;
उच्च सलाम पत्रकार तिमीलाई !
हार्दिक कृतज्ञता पत्रकार तिमीलाई !
हृदयको अभिनन्दन पत्रकार तिमीलाई !
हृदयको अभिनन्दन तिमीलाई !
आदरणीय सुरेशजी
तपाईँलाई समर्पणगरेको यो कविता, सुन्दिनुहोला
हृदयबाट सुनेर आशीर्वाद पठाउनुहोला
नेपाललाई माया गर्ने सबैलाई साथ दिनुहोला
जिउँदै आगोमा पोलिने, जलाइने फोहोर होइन पत्रकार
जिउँदै आगोमा पोलिने, जलाइने फोहोर बस्तु होइन पत्रकार
अमर रहोस् तिम्रो राष्ट्र सेवा र राष्ट्र बलिदान सदा
अमर रहोस् तिम्रो राष्ट्र सेवा र राष्ट्र बलिदान सदा
उच्च सलाम सुरेश रजक तिमीलाई !
उच्च सलाम छ तिम्रो बलिदानलाई
हार्दिक कृतज्ञता सुरेश रजक तिमीलाई !
हृदयको अभिनन्दन सुरेश रजक तिमीलाई !
हृदयको अभिनन्दन प्रिय सुरेशजी तपाईँलाई
हृदयको अभिनन्दन छ सहिद सुरेश रजकलाइ
अभिनन्दन छ सहिद सुरेश रजकलाइ
हृदयको अभिनन्दन
पत्रकारको सदा कल्याण होस् !!
पत्रकारिताको जय होस् !!
हार्दिक आभार एवं कृतज्ञता !
शुभचिन्तक
-कवीन्द्र सिटौला