Letter to Nepal
परम् प्रिय नेपाललाई चिठी
हामी यतिबेला कलियुगको अन्तिम सन्ध्याकालीन साँझमा उभिएका छौँ जहाँ सृष्टि आमाको आशीर्वादले अभिषिक्त भएर अन्धकारलाई प्रेमपूर्वक विदाई गर्ने यत्न गरिरहेका छौँ। तिम्रो पवित्र काखबाट जागृत हुँदै गरेको नवचेतनाको प्रभातलाई हामी उल्लासपूर्वक स्वागत गर्न आतुर छौँ। यो दिव्य यात्रामा मन, वचन र कर्मले समर्पित सबै सन्तानहरूमा, सपूतहरूमा तिम्रो आशीर्वाद र पुण्यवर्षा होस्। जब विश्व युद्धको गर्जन गर्दै अहङ्कार र घृणालाई बोकेर शान्ति र सुखलाई खल्बल्याउँदै अघि बढ्दछ, त्यसैबेला हामी प्रेम, शान्ति, सद्भाव र मानवताको एक अनुपम महायज्ञ आरम्भ गर्दैछौँ जसको उज्यालो ज्योतिमा युद्ध, हिंसा, घृणा र अज्ञानको अन्धकार विलीन होस् सदाको लागि।
हे प्रिय नेपाल !
रहस्यको गहिराइबाट उब्जिएको तिम्रो नाम तिम्रो दिव्य नाम, केवल उच्चारणमै सुगन्ध फैलिन्छ तर तिमीलाई यो सुन्दर नाम कसरी प्राप्त भयो ? यसको व्युत्पत्तिको खोजीमा शताब्दीयौँदेखि मानिस लागिरहेछन् । जसले तिमीलाई यो दिव्य नाम दिए, हामी उनीप्रति हृदयदेखि नै नमन गर्छौं, मनको गहिराइबाट कृतज्ञता अर्पण गर्छौँ । पुराना ग्रन्थहरू भन्छन्: “ने” अर्थात् तपस्यामा लीन भएका नेमी ऋषि जसले काठमाडौँ उपत्यकाको रक्षाको भार उठाए, र पालन गरे “पाल” को अर्थ संरक्षक हो ! त्यसैले “ने”- र—”पाल” बाट ‘नेपाल’ एक पवित्र संयोजन हुन पुगेको होस् ! अथवा, नेवारहरूले नेपाललाई ‘नेपा’ मात्र भन्थे जुन पछि नेपाल बन्यो। “ने” को अर्थ मध्य र “पा” को अर्थ देश हो, यो उपत्यकाका आदिम बासिन्दा जसको सभ्यता, बोली, भेषभूषा, व्यञ्जन र व्याकरणबाट यो शब्द विकसित भएको होस् ! अथवा किराती भाषा, तिब्बत-बर्मी भाषा, लेप्चा भाषा, लिम्बू भाषा, तामाङ भाषाहरूको गर्भबाट जन्मिएको नाम, “पवित्र भूमि”, “मध्यवर्ती निवास” भन्ने अर्थ बोकेको होस् ! अथवा संस्कृतको निपा—पहाडको फेदी र आलय—निवास नै किन नहोस् ! अथवा हामीलाई जानकारमा नआएको अरु कुनै नेपालमा भएका भाषा, संस्कृति अथवा सभ्यताबाट आएको होस्।
साँच्चै, तिमी त पहाडको काखमा अडिएको एउटा सपनाजस्तो थलो अथवा तिमी ‘हिमालयको मुटु’ भएर पनि चिनिएकी भूमि हौ! अथवा सधैँ गाईबस्तुसँग रमाउने गोठाला- नेपा– नामबाट तिम्रो नाम रहेको होस्! यी सम्भावनाहरूले तिमीलाई चिनाउने प्रयास गर्छन् । तर तिमी त सधैँ सबैभन्दा परको अर्थ हौ—अनुभूतिमा बस्ने नाम ! यो विश्व ब्रह्माण्डमा सबैभन्दा प्रिय नाम।
साँच्ची नै तिमीलाई जसले तिम्रो नाम दियो, उसलाई हृदयबाट सलाम, आत्माबाट नमन !
इतिहासका गहिरा गल्लीहरूमा विचरण गर्दा…बोधिसत्व मञ्जुश्रीले जलमग्न उपत्यकाबाट पानी हटाई जीवन सँगाल्न र अँगाल्न मिल्ने भूमि बनाएका थिए। त्यसपछि आए मञ्जुश्री, महिषपाल र गोपालवंशीहरू ।अनि यलम्बर किरात वंशका महान् शासक बने जसले यो भूमिमा शासन मात्र गरेनन्, संस्कृति, धर्म, सभ्यता र सन्तुलन रोपिदिए ।पुनः लिच्छवीहरूको आगमन भयो जसको एक शासनअवधि मात्र होइन, संस्कृतिका सर्जक थिए उनीहरू। मानदेव र अंशुवर्माका नामले मात्रै नभई उनीहरू कर्मले पनि पूजनीय थिए जसका पदचापमा बुद्धि, धर्म, कला र काव्य सगसँगै हिँड्थ्यो । त्यसपछिका ठकुरी र मल्ल शासकहरूले लिच्छवीहरूले रोपेको बीउलाई कलात्मक धरोहरकारूपमा हुर्काए, त्यो युगलाई मल्लकालीन कला, वास्तुकला एवम् साहित्यमा परिणत गरे! यही हो तिनको स्वर्णयुगको ऐतिहासिक चकाचौँध! महान् राजा महेन्द्र मल्ल जो प्रजाको दुःख नटारी आफ्नो भोक टार्दैनथे, जो जनताको छायाँमा आफू आफ्नो उज्यालो खोज्दैनथे । उनी साँच्चिकै राज्याधिपति मात्र होइन,एक मानवता भित्रिने कवि राजा थिए। त्यसपछि आए—शाह शासकहरू जसको नेतृत्वमा पृथ्वी नारायण शाहले विभाजित र छिन्नभिन्न भएका भूमिहरूलाई एकजुट पारेर “नेपाल” नामको सानो क्षेत्रलाई आधुनिक कल्पनाजन्य विशाल भौतिक वास्तविकतामा स्थापना गरे- विशाल नेपाल । तिनले हामीलाई दिए—वीरता, स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय चेतनाको अमर ज्योति! पृथ्वीनारायण शाह र त्यो बेलाका सबै वीर नेपालीहरू प्रति हामी कृतज्ञ छौँ।
नेपाल अब संघीय गणतन्त्र भइसकेको छ तर पृथ्वी नारायणको दृष्टिकोण आज पनि मनमा मनका कुनाकुनामा सन्दर्भ बनेर जीवित रहिरहेछ । जब हामी इतिहासका सकारात्मक परिवेसमा दृष्टि राख्छौं, ती स्पन्दनहरूलाई छाम्न पुग्छौं र तिनीहरूलाई अनुभूत गर्न लाग्छौं, त्यहाँ राणा शासकहरूद्वारा निर्माण गरिएका विशाल विशाल दरबारहरू पनि देखिन्छन् — ती केवल ईँट, पत्थर, मट्टी र आदेशका संरचना मात्र होइनन् । ती कुनै कल्पनाहरू मात्र थिएनन्, ती हुन् तत्कालीन युगका जीवन्त सीपका साक्षी, रचनात्मक र कलात्मक हस्ताक्षरहरू ! हाम्रो सभ्यता र संस्कृतिका मौन सन्देशवाहक हुन् ती कालजयी राष्ट्रिय स्मारकहरू ! आज ती दरबारहरूमा राष्ट्रसेवक सपूतहरू मातृभूमि नेपाललाई पुनः जागृत गर्न र विकशित पार्न कार्यरत भएर मनैबाट समर्पित छन्। राणा शासनकालमै सतीप्रथारूपी अमानवीय कुप्रथाको अन्त्य गरेर उनीहरूले हाम्रा जननीमाथिको जघन्य अन्यायबाट उद्धार गर्न एक ऐतिहासिक मानवीय न्यायको बाटो देखाए। त्यो कदम केवल सामाजिक सुधार मात्र थिएन, त्यो त एक भौतिक र आध्यात्मिक मुक्ति थियो— नारी अस्तित्वप्रति समर्पित एक आत्मिक क्रान्ति— एक नवीन युगको सूत्रपात, सम्मान एवम् सुरक्षा…!
त्यति मात्र होइन, जब पृथ्वीनारायण शाहले नेपालीलाई एक भूभाग दिए, त्यसलाई पछिकाहरूले बढाएर लगे अनि जङ्गगबहादुरले जङ्गे स्तम्भ रखाएर नेपालको सीमानालाई दूरगामी रूपमा सुरक्षित गरे अनि आदिकवि भानुभक्तले त्यस सीमा भित्रका सवै जात जातिका नेपालीलाई, नेपाली जातिलाई, नेपाली भाषीलाई साझा भाषा दिएर सबैलाई एक सूत्रमा मिलाए, जुन सूत्र नै सारा नेपालीको, नेपाली जातिको लागि, नेपाली भाषीको लागि एकताको शक्ति, गौरव र महिमा थियो — अखण्ड नेपाल र नेपाली, । तत्कालीन नेपाल बाहिरका नेपालीलाई पनि सदाकालागि त्यही भाषाले नै एकै नेपालीपनमा सूत्रबद्ध गर्यो। यो क्रम रोकिनु हुँदैन।
यसर्थ, हामीले उनीहरूका ती सत्कर्मलाई आत्मादेखि नमन गर्नु आवश्यक छ। उनीहरूको प्रयत्नलाई धन्यवाद भन्नु हाम्रो कर्तव्य हो, किनभने उज्यालोतर्फ डोर्याउने जुनसुकै प्रयास, चाहे त्यो जति पनि, सानो किन नहोस्, अपूर्ण किन नहोस्, सदा प्रशंसायोग्य हुन्छ। कृतज्ञता विवेकको दीप हो, जसले विगतलाई श्रद्धा र भविष्यलाई आशामा उज्यालो पार्दछ अनि जीवनलाई कर्मशील बनाउँछ । अब हाम्रो क्षमता र हामी भौगोलिक सीमा रेखामा मात्र सिमित छैनौं, हाम्रा पुर्खाहरुले दिएको चेतना बोकेर विश्वभरि फैलिरहेका छौं.. फैलिरहनेछौं !
सृष्टिको पहिलो स्पन्दनसँगै, नेपालभूमिको पुण्य प्रारम्भसँगै जन्मनुभएका अदृश्य र दृश्य रूपमा नेपालको रक्षा गर्नुहुने सदा आदरणीय राजा, महाराजा र राष्ट्रपतिज्यूहरू ! देश हाँक्ने, नेतृत्व गर्ने सदा आदरणीय भारदार, काजी, प्रधानमन्त्रीज्यूहरू ! नेपाल अधिराज्यको एकतालाई मेरुदण्ड बनाउने ती अमर शासक र कुशल शिल्पीहरू ! तपाईंहरूलाई हाम्रो श्रद्धाको अभिव्यक्ति, कृतज्ञताको गहिरो नमन ! नेपाललाई “नेपाल” बनाउने, हामीलाई “नेपाली” भनेर चिनाउने र यो गौरवशाली मातृभूमिको माटो र मान जोगाउन आफ्नो जीवन आहुती दिने सैनिक, प्रहरी, सहिद र समर्पित राष्ट्रभक्तहरू ! तपाईँहरू सदा पूजनीय हुनुहुन्छ। तपाईंहरूको नाम आज लिपिबद्ध छ या छैन, तर तपाईंहरू सम्पूर्णको योगदान अमर छ, अविस्मरणीय छ, समय यसको स्वयं साक्षी छ ।
यो पुण्यभूमि, जहाँ पवित्र पवनसँगै गहन र दिव्य सन्देश सञ्चारित हुन्छ, जहाँको शान्तिमा ध्यान गहिरिन्छ, जहाँ हिमाली हिउँजस्तो निर्मल आत्मा दिव्य चेतना छर्दै विचरण गर्छ, जहाँ कला र वास्तुकलाका मञ्जरीहरू पलाउँछन्, जहाँ बुद्धको शान्तिको स्वर विश्वभरी गुन्जिन्छ, जहाँ महर्षिहरूका अक्षय अक्षर र ज्ञानका स्पर्श तथा वीरहरूका शौर्यगाथा पिढीपिढीका धरोहर बनेर बाँचिरहेका छन् ! जहाँ नेपालको अद्वितीय भौतिक सौन्दर्यले भरिपूर्ण प्रकृतिमा स्वयं दिव्य चेतनाकी देवी प्रकृतिले परिवर्तन, नवीन सौन्दर्य र सद्प्रेमको निरन्तर उत्सव मनाउँछिन्। कहिले रङ्गहरूमा हराउँछिन्, कहिले मौनतामा निमग्न हुन्छिन्। कहिले मुस्कानमा फुल्छिन्, कहिले संगीतमा झुम्दछिन् र नृत्य गर्दछिन्!
नेपालको धर्तीमा प्रकृतिको आत्मा स्वयं मुखरित हुन्छ, रमाउँछ र विलीन भएर सबैतिर फिजिन्छ अनि सबैलाई मीठो झस्का दिइरहन्छ, हामीले त्यो नाद र निनादलाई सुन्न मात्र सक्नु पर्छ।
यो त्यो भूमि हो, जहाँ सगरमाथाले बादलसँग संवाद गर्छ जहाँ पृथ्वीको शिर भएर सबैलाई आशीर्वाद बर्साउँछ, जहाँको झन्डा पृथक छ, जसमा राष्ट्रको आत्मा झल्किने, मानवीयरूप प्रतिबिम्बित हुने क्षमता र रूप छ र यसैमा सृष्टिसत्ताको प्रकाशबिम्व—शशीसूर्य—सदा झल्किरहेका छन् ।
भनिरहनु पर्दैन, यसमा इतिहास बोल्छ, यसमा यसरी विविध अद्वितीय पहिचान छन् । यो त्यो स्वतन्त्र राष्ट्र हो जो सृष्टिको आरम्भदेखि नै कसैको अधीनमा कहिल्यै थिएन, छैन र हुने पनि छैन ।
हे परम प्रिय मातृभूमि, नेपाल !
तिमीले पाएको सन्तानको संस्कार स्वयं संस्कृत वाङ्मयका वेदका श्लोक जस्तै अनुपम छ, कालकोशमा अमर छ। तिम्रो छायाँमा हुर्केका हामी दिग्दिगन्तसम्म शान्तिको दूत भनेर पहिचान पाउँछौं, हर्ष र उल्लासमा रम्ने दिव्य ज्ञान र ज्योतिको स्रोतपुञ्ज हिमालयका सन्तान भनेर चिनिन्छौं। हामी अतिथिलाई देवता सरह मान्ने भावपूर्ण आत्मीयता बोकेको मानव समूहमा सद्भाव, भ्रातृत्व र मिलनका सुगन्ध फिजाउने उदार हृदयको सभ्यताका परिपोषक हामी नै हौं ।
प्रिय नेपालका वंशज!
हामी त्यो भूमि हौं, जहाँ कला र संस्कृति जीवनको श्वास जस्तै जीवन्तछ, जहाँ योग र ध्यानको शाश्वत ज्ञान पिंढीपिंढीमा फैलिएको छ, जहाँ चेतनाको मूल सृजनात्मकताको रूप लिँदै फुट्दछ, जहाँ प्रेम र ज्ञानको ज्योति धपधपी बलेर निस्किन्छ । हामी हौं वीर गोर्खालीको सन्तान, जो काल र प्रलयसँग पनि मुस्कानमा उभिन सक्छन्! साहस हाम्रो रगतमा छ !सृजनशीलता हाम्रो हृदयको धड्कनमा स्पन्दित हुन्छ! हो, हामी नेपाली हौ! जहिलेसम्म शिर उचालेर हिमाल उभिएको हुनेछ , जहिलेसम्म चन्द्र सूर्य आकाशमा रहनेछन्, त्यही बेलासम्म चन्द्र–सूर्य अंकित झण्डा नीलो आकाशमा फर्फराईरहनेछ, अनि हामीलाई अखण्डित नेपाल र नेपाली भनेर विश्वले स्मरण गरिरहनेछ। यही, त्यही पवित्र भूमिमा जन्मिन पाउनु, यही,त्यही पावन माटोमा स्वास फेर्न पाउनु एउटा अपूर्व सौभाग्य हो ! जसको फस्वरूप तपाईं हामीलाई -हाम्रो जीवन पुण्यमय भएको अनुभव स्वाभाविकरूपमा जागृत हुन्छ । हजुरहरू सबैलाई जीवनको हरेक कदममा प्रिय नेपालको सफलताको छायाँ बनी प्रेम, सद्भाव, सुन्दरता र सत्यको साथको लागि निरन्तर लागिरहनुभएकोमा हाम्रो मनदेखि, हृदयदेखि उच्च सम्मानका साथ हार्दिक कृतज्ञता व्यक्त गर्दछौं, आफैंले आफैंलाई धन्यवाद व्यक्त गरौं! र हामी यस पुण्यभूमिमा, यही जुनीमा जन्मिन पाएको छौँ, यो सुन्दर युग हेर्न पाएको छौँ, यही युगको, यही समय कालखण्डको एक भाग्यमानी अभियन्ता बन्न पाएको छौँ । एक आपसको साथमा रहन पाएको छौँ, अनि अझ सुन्दरतामा परिणत गर्न चेतनाको दीप लिएर प्रेम, शान्ति, सद्भाव र मानवताको अभियानमा लागेको छौँ । यो हाम्रो लागि केवल संयोग होइन, यो त हाम्रै पूर्वजन्मका सत्कर्महरूको फल हो ! यसैले, त्यसैले यो धर्तीमा, यो ब्रह्माण्डमा, जहाँ ब्रह्माण्डले स्वयं हामीसँग संवाद गर्दैछ। हामी जहिले जहाँ रहे पनि आफैलाई एक धन्य, सौभाग्यशाली समर्पित आत्मा र संवाहक ठान्नुपर्दछ। अनि यही चेतना हामी सबैको हृदयमा सदा जागोस्! हामी संसारको जुन कुनामा रहे पनि अब हामी प्रत्येकले
“म को हुँ ? म के हुँ” भन्ने प्रश्न गर्ने समय आएको छ। यो युग परिवर्तनको समय हो।
यही चेतना हामी सबैको हृदयमा सदा जागिरहोस् ! निरन्तर जागिरहोस् ।
हे परम प्रिय नेपाल,
तिम्रो निर्माण गर्न लाग्नुभएका सम्पूर्ण आदरणीय शिल्पीहरू एकबद्ध भएर तिम्रो चेहरा फेरुन,
तिमीलाई चाँडै नै सबै मिली विश्वमा “प्रेम,योग, ध्यान, ज्ञान गुरु राष्ट्र” को रूपमा र एक समृद्ध राष्ट्रको रूपमा स्थापित गराउन पाउँ – देख्न पाउँ !
जीवन रहँदै चेतनाको युगमा तिमीसँगै प्रवेश गर्न पाउँ
तिम्रो स्तुति युग युगान्तर गुन्जिरहोस्.. गाइरहुन्।
अब तिम्रा सन्ततिहरू विश्वमा सदा सम्मानित रहिरहुन्
हे आमा नेपाल तिमीलाई, संसारकै राम्री बनाउला !
मिलेर सबै एकबद्ध, संसारमा तिमीलाई चिनाउँला !
हटाई तिम्रा व्यथा र पीर, तिमीलाई सधैँ हँसाउँला !
तिमीलाई सधैँ हँसाउँला।
जय प्रिय नेपाल! जय मानवता!
जय सृष्टि, जय प्रेम, जय शान्ति, जय समृद्धि …..!
हे आमा तिम्रो आशीर्वाद हामी सबै सन्तानहरुलाई आइरहोस्
सबैलाई परमानन्द प्राप्ति होस्।
ॐ सर्वे भवन्तु सुखिनः ।
सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु ।
मा कश्चित् दुःख भाग्भवेत् ॥
ॐ शान्तिः शान्तिः शान्तिः॥