letter to Sagoon Founder
सगुन कम्पनीका संस्थापक र परिवारलाई चिठी
प्रिय मित्र गोविन्द गिरीजी,
मित्रताको आत्मीय अभिवादन !
तपाईं र हाम्रो मित्रताको कथा मेरो मनमा केवल सम्झनाको पुस्तक मात्र होइन, प्रेरणाको ग्रन्थ जस्तै भएर बसिरहेको छ। म यसबारे कलम चलाउने तयारीमा छु—उपयुक्त समयमा लेखिने त्यो पुस्तकले मित्रताको परिभाषा नै फेरि व्याख्या गर्नेछ। अहिले त त्यो शब्दहरूमा होइन, भावनाहरूमा र हृदयको गहिराइमा छ।
मलाई लाग्छ, तपाईंले आफूलाई जुनसुकै स्तरमा चिन्नुहुन्छ, म तपाईंलाई अझ गहिराइबाट चिन्छु। ९० को दशकमा मेरी दैनिकी डायरीको पानामा तपाईं अवश्य हुनुहुन्छ—तर कुन रूप र कोणमा, त्यो त पछि पढ्दा थाहा पाउनेछु। आज भने, म ३० वर्ष अघिको गोविन्दलाई सम्झिँदै, एक सानो तर आत्मीय पत्र लेख्दैछु।
तपाईं र मेरो पहिलो भेट 1994 मा अर्लिङ्गटन, भर्जिनियाको 2703 South Fern Street मा भएको त्यो दिन म अझै पनि बिर्सेको छैन। दुई नेपाली, दुई सपना, दुई दृष्टि—र एउटै उद्देश्य। तपाईंको हातमा कोमलता, मेरो हातमा कडापन—त्यो पहिलो हात मिलाउँदाको स्पर्श अझै सम्झनामा ताजै छ। तपाईँसँग हात
मिलाउँदा हातै दुख्ने गरी तपाईँलाई असजिलो बनाएको थिएँ-सायद २०औँ शताब्दीको जेन्जीको(GenZ)ऊर्जा हुनुपर्छ । तपाईं
संखुवासभाबाट, म तेह्रथुममा जन्मिएर झापामा हुर्किएको—तर हाम्रो साझा पहिचान, साझा माटो, साझा सपना।
तपाईंको अनुहारमा हतारको व्यस्तता, तर ओठमा सधैं मुस्कान।
तपाईँ सपना र कल्पनाको कुरा गर्ने म हाम्रो क्षमता र पहिचानको कुरा गर्ने, यिनै कुराहरूले हामीलाई नजिक्याउँदै लगिरहेको थियो।
हामी जब भेट्थ्यौं, हाम्रो कुरा नेपाल, अमेरिका, जीवनका कठिनाइ र समाजका सम्भावनाहरूमा घुम्थ्यो। हाम्रो जीवनका लक्ष्यहरू, गन्तव्य र उद्देश्यहरूमा रहेको त्यही केमेस्ट्रीले हामीलाई नजिक ल्यायो—रूममेट मात्र होइन, यात्रासाथी र आत्मीय साथी बनायो।
साँचो मित्रता त्यही हो—जहाँ एकले अर्कालाई उकास्छ, प्रगतिको कामना गर्छ, र कहिल्यै धोका दिँदैन, यात्राको बीचमा लगेर छोड्दैन । म गर्वसाथ भन्छु, हामीले एकअर्कालाई कहिल्यै धोका दियौं जस्तो लाग्दैन। त्यो लामो अप्रिल फूलको रमाइलो बाहेक (बासु श्रेष्ठदाइको ‘मास्टर प्लान’) अझै स्मरणीय छ—जीवनका रंगहरू, हाँसोका घुम्तीहरू। बुढेसकालमा यही सम्झेर मज्जाले हाँस्नेछौं, अर्थपूर्ण जीवनको आयु बढाउनेछौँ। हाँसो नै जीवनको सर्वोत्तम औषधि हो।
तपाईं सृजनशील हुनुहुन्थ्यो, सहायक हुनुहुन्थ्यो—विशेषगरी अमेरिकामा बस्ने नेपालीलाई बाटो देखाउने, कानुनी र व्यावहारिक उपाय दिने, कलाकारदेखि आम नागरिकसम्मलाई सम्भावनाको ढोका खोलिदिने। धेरैले सायद त्यो तपाईँले लगाएको गुण र योगदान बिर्से होला, तर “कर्मको धर्म” भने यही हो—”आशा बिना सहयोग”। तपाईंले देखाउनुभएको बाटोका लागि म गहिरो कृतज्ञ छु।
हामीले जीवनका कठिन यात्रामा अनेक सपना बाँड्यौं—सत्कर्महरू गर्यौ; नेपाली युवा संगठन, पत्रिका, अनलाइन सम्भावना, पहिलो अनलाइन समाचार पोर्टल, सगरमाथा टिभी, पहिलो देउसी, दशैं तिहार मेला, कानुनी परामर्श, नेपालमा संयुक्त लगानी। १९९९ मा नेपालमै पहिलो संयुक्त लगानीमार्फत कलेज स्थापना गर्दा तपाईंले बुझाउनुभएको थियो—“जग्गाको मूल्य मात्र होइन, हामीलाई आउने मुनाफा मात्र होइन, विद्यार्थीहरूलाई सेवा होस्”। त्यो भावनाले मलाई अझै छोइराखेको छ। भन्नुहुन्थ्यो
“यसपछि अरु धेरै सम्भावनाको बाटोहरू खुल्नेछन् र हामीले धेरै काम गर्न सक्नेछौँ समाज र देशको लागि” तपाईँ निकैनै दुर्दर्शी
हुनुहुन्थ्यो।
तपाईं बाहिर मात्र होइन, भित्र पनि सृजनशील—किचनमा पनि
कलाकार; तपाईं पकाउने मिठो खाना—तरकारी, कुखुराको मासु,
फ्राइड दाल—हरेक पटक नयाँ स्वाद, विशेषगरी पूर्वेली गीतहरू सँगै बसेर गाउने नाच्ने।
त्यही नवप्रयोग र यस्तै सिर्जनाको हुटहुटीले, सिर्जनशीलताले सगुन जन्मायो सायद। तपाईंले गूगललाई चुनौती दिनुभयो, साहस मात्र बोकेर हामफाल्नुभयो ढल्नुभयो, तर गल्नु भएन। सर्च इन्जिनबाट
सोसियल मिडिया, गिफ्टिङ प्लेटफर्मसम्म—आपत भए पनि तपाईँको यात्रा रोकिएको छैन। सपना ढलेको छैन, मरेको छैन। विज्ञान र प्रविधिले कति कुरा कोल्टे फेरिसक्यो, तपाईंका आइडिया र विचार बोकेर संसारका अरु कम्पनी अघि बढिसके, कति कुरा नयाँ आइसके तर संसारमा परिवर्तन निरन्तर छ।
इतिहास रच्न चाहने मान्छेहरू जिद्दी हुन्छन्, तर त्यही जिद्दीपन नै कहिल्यै हार नमान्ने संकल्पमा परिणत हुँदा संसारलाई उपहार बन्छ। संसार परिवर्तन गर्ने मान्छेहरु सबै जित्दिने देखिन्छन् यसलाई सकारात्मक आँखाबाट हेर्दा उनीहरू आफ्नो लक्ष्य, संकल्प, प्यासन बाट विश्वमा परिवर्तन ल्याउने कुरामा विश्वस्त देखिन्छन्, उदाहरणको लागि स्टिभ जब उनी अत्यन्तै जिद्दी थिएरनै मानव जातिलाई यो उपहार छोडेर जान सफल भए जहाँ उनले आफ्नो परिवारलाई बलिदान गर्नुपर्यो। तर सबैलाई सधैँलाई यही नै सत्य भन्ने हुँदैन केवल कमी कमजोरी सुधार्दै अघि बढ्दा सफलताको शिखरमा अवश्य पुगिन्छ नि।
मलाई अझै याद छ—तपाईंले मलाई भन्नुभएको त्यो वाक्य, जसले मलाई एक भिडियो बनाउन प्रेरित गरेको थियो।
“यदि मृत्यु पनि अगाडि आयो भने, म मृत्युलाई परास्त गरेर नेपालीहरूले संसारमा योगदान गर्न सक्छन्, आफ्नो स्पेस राख्न सक्छन् भन्ने प्रमाणित नगरी म मर्दिन। सगुनबाट हरेक लगानीकर्ता र हरेक नेपाली हाँसेको देख्न पाउँ”।
मलाई यही कुरा राष्ट्रिय आविष्कार केन्द्रका परिकल्पनाकार एवं अभियन्ता आदरणीय दाजु महावीर पुनले अमेरिकामा सँगै बस्दा भनेको हुनाले यो तलको भिडियो बनाउन प्रेरित भएको थिएँ जुन कुरा मैले पाँच वर्ष पहिला बनाएको भिडियो सार्वजनिक गरेको थिइन। आज यही पत्रबाट तपाईँहरू दुवैजनालाई सम्मान र समर्पण गर्दै तपाईंहरुले देखेको सपना यथाशीघ्र पूरा होस् भन्ने प्रार्थना गर्दै सार्वजनिक गर्दछु- आशा छ मैले यो भिडियोमा बोलेका सपनाहरू चाँडै पुरा हुनेछन्, भावनाहरूलाई सम्मान हुनेछ।
यी मेरा भावनाहरू नभएर सम्पूर्ण नेपाली जाति र नेपाली भाषिहरूका अत्यन्तै गहिरा संवेदनशील भावनाहरू हुन् भन्ने
विनम्रतापूर्वक जानकारी गराउन चाहन्छु ।
https://youtu.be/wjGbEBKRlVM?si=n0FXgmC8YzM6q5A4
यही तपाईंको आत्मबल हो, यही तपाईंको जिद्दीपन हो—र यही कारणले म विश्वस्त छु, तपाईं अब ढल्नुहुन्न। समयले तपाईंलाई गलाउने छैन, बरु साथ दिनेछ। आविष्कार, विशाल परिवर्तन,
इतिहास रच्न चाहने र बृहत मानव हितमा सोचका मानवहरू
जिद्दी र हारलाई स्वीकार नगर्नु प्राकृतिक हो भने आफ्ना गल्ती र कमजोरीहरूबाट सिक्दै त्यसलाई नै सफलताका आधार बनाउनु अर्को पक्ष हो । दुवै पक्षले मानव जातिको भविष्य सुन्दर
बनाउँछ ।
तपाईंलाई विश्वास गरेर लगानी गर्ने हरेक व्यक्तिको आफ्नै कथा, चुनौती र सपना छ। तर सबैको साझा आधार भनेको तपाईंको प्रयासलाई साथ दिनु हो- एउटा नेपालीको पहिलो आइपीओ जाने प्रयासलाई हिम्मत दिनु थियो । म पनि मलाई दिइएको विश्वमा
आध्यात्मिक नेतृत्वको जिम्मेवारी बहन गर्दै गर्दा, तपाईंको लक्ष्य पुरा नहुँदासम्म मेरो प्रारम्भिक प्रतिबद्धता निरन्तर रहनेछ भन्ने विश्वास दिलाउँछु।
अन्तमा, तपाईंको साहस, हिम्मत र विश्वासलाई सम्मान गर्दै, तपाईंलाई सगुनका प्रत्येक सदस्यले साथ दिएको हो र अहिलेसम्म पनि साथ दिइरहनु भएको छ। त्यसमा अवश्य नेपाली भावनाको सबैभन्दा महत्त्वपूर्ण आत्मीय नाता छ। तपाईँ हरेक लगानीकर्तासँग कृतज्ञ एवं आभारी हुनुपर्छ, हुनुहुन्छ नै । यो भावनालाई तपाईँले राम्रोसँग बुझ्नुभएको छ भन्ने कुरामा मलाई दुई मत छैन रनै तपाईं सम्पूर्ण परिवारलाई भन्दा माथि यो अभियानलाई राखेर यो संग्राम लडिरहनु भएको छ, अगाडि बढिरहनुभएको
छ। लगानीकर्ताहरूको ठूलो धैर्यतालाई बुझेर कम्पनीले गरिरहेको प्रयासलाई पक्का पनि नयाँ गति दिनेछ चाँडै सफलता देख्न पाइयोस् चाडै सफलता छुन पाइयोस् ।
सम्पूर्ण सगुन परिवारलाई सफलता र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना !
हार्दिक धन्यवाद ! आभार सहित हार्दिक कृतज्ञता !!
तपाईँको सदा अनन्य मित्र ।
कवीन्द्र