Letter to Santati
हाम्रा सन्ततिहरूलाई चिठी
विक्रम सम्बत् २०८१ मङ्सिर ३ साल तदनुसार इस्वी सम्वत् २०२४ नोभेम्बर १८ ।
आजभन्दा विक्रम सम्बत् ११८ वर्षपछाडि चैत्र ३१ पछि जन्मनुहुने विश्वका हरेक कुनामा रहने सबै सबै नेपाली मूलका नेपाली भाषीलाई सम्बोधन गर्दै, सम्झँदै म यो विशेष पत्रमार्फत् विशेष सन्देश अभिलेख गरिँदैछ ।
त्यो समयसम्म विज्ञानले कुनै चमत्कार नगरे सम्भवतः आजको दिनसम्म पृथ्वीलोकमा जन्मेका हामी सबै मानव यस शरीरमा जीवित रहनेछैनौँ ।
हाम्रा प्रिय सन्तानहरू,
म तपाईंहरूको करोडौँ गौरवशाली पुर्खाहरूमध्ये एक हुँ भन्न पाउँदा गौरवान्वित छु। त्यसमाथि पनि हाम्रो पवित्र पुण्यभूमि नेपालमा जन्मेको हुँ भन्न पाउँदा यस जुनीको मेरो मानव जीवन सार्थक भएको छ ।
तपाईंहरूका लागि म एउटा युग परिवर्तनको यो कथा लिएर उपस्थित भएको छु। यो कथा यो इतिहास हाम्रो कालखण्डमा एउटै मात्रै रहनेछ। यो भन्दा अघिको कथा मेरो अर्कै ग्रहको रहनेछ। जुन कुरा समय कालान्तरमा तपाईंहरुलाई ज्ञान हुनेछ ।
यो कथा एउटा नारीको, एउटा सृष्टिको, एउटा पम्फाको फूलको अनि प्रेमको उत्पत्तिको हो । यो कथा एक नारीले बिताएको युगको हो, यो कथा एउटी आमाको हराएको सन्तानको हो । यो एउटी आमाले आफ्नो सन्तानप्रति गर्ने ममताको कथा हो, यो कथा आउनेवाला युगको हो ।
आज विक्रम सम्वत २०८१ मङ्सिर ३ साल तदनुसार इस्वी सम्बत् २०२४ नोभेम्बर १८, मनमाया सिटौला अत्यन्तै प्रसन्न छिन् । आजभन्दा ९४ वर्षअगाडि उनी नेपाल अधिराज्यको ताप्लेजुङ जिल्लाको हाङपाङ गाउँमा यो शरीर लिएर मानव चोलामा अवतरण भएकी हुन् ।
आज उनको बिहानी उनको गीतसँगै उनको कान्छो छोराको नृत्यबाट सुरु भयो Facebook messenger भिडियो कलमा । पहेँलो गालामा चुक्क भन्दै उनले गीतअघि र गीतपछि संयुक्त राज्य अमेरिकाको राजधानी वासिङ्टन डी सी मा रहेको उनको छोरालाई नेपाल अधिराज्यको राजधानी काठमाडौँबाट चुम्बन गरिन्। उनकी नातिनी कृपासँग खुशीले गद्गद् हुँदै दालभात तरकारी मज्जाले खानु है, दरो बन्नु, सबैलाई माया गर्नु, राम्रो पढ्नु अनि फोन गर्दै गर्नु है भनेर गालामा चुक्क भन्दै बिदा भइन् ।
आज उनी धेरै कुरा सम्झिन्नन् तर फोनमा कुरा गर्नेबित्तिकै वा भिडियोमा आउनेबित्तिकै सबैलाई गालामा चुक्क गर्न आतुर हुन्छिन् अनि दिलैबाट प्रकृति, हावा र आकाशले सुन्ने गरी हाँसिरहन्छिन् हाँसिरहन्छिन् । प्रेमको प्रवाह छोडिरहन्छिन् छोडिरहन्छिन् । आज उनले अतीतका धेरै घटना नसम्झे पनि उनका सबै कथा, उनले बिताएको सिङ्गो युगको कथा “मैले बिताएको युग” हामीलाई सम्झनास्वरुप उपहार दिएकी छन् । यस अर्थमा उनका संस्मरणहरू अब हामी र हाम्रा भविष्यका सन्तानहरूसँग सुरक्षित छन् ।
उनले आफूले गर्भमा सुरक्षित र प्रेमपूर्वक सम्हालेर राखी जन्म दिएर १४ वर्ष लामो बात्सल्यप्रेमले नुहाएर हुर्काएको अतीनै पृय सन्तान गुमाएपछि उनकै प्रार्थना, आराधना, पुकार, इच्छानुरुप उनकै कोखबाट जन्मिएको एक अर्को जिज्ञासु बालक हुँ म । मनमालाई नै थाहा थिएन उनको त्यो हृदयको फूललाई किन कसैले चुनेर उनले ब्रह्मापुत्र नदीमा अर्पण गर्नुपर्यो, त्यही पलमा कोही उनीलाई हेर्दै शान्तसँग मुस्कुराइरहेको उनीलाई नै अवगत थिएन। समय केवल मौन आफ्नै कर्ममा, आफ्नै गतिमा बगिरहन्छ…..।
प्रिय ज्ञानी सन्तानहरू,
तपाईँहरूलाई हामी एउटा विशेष ज्ञान, सन्देश, प्रेम र उपहार केही कर्म छोडेर तपाईँहरूमाथि पूरा भरोसासहित जाँदैछौँ । तपाईँहरू मानव सृष्टिको पहिलो भाग्यमानी जाति बन्दै हुनुहुन्छ । तपाईँहरूका पुर्खाले समयको यो अत्यन्तै संवेदनशील क्षणमा गरेको आह्वानलाई कर्म सम्झेर धर्म गर्नुहुनेछ भन्ने हामी पूर्ण विश्वास राख्दैछौं । हाम्रो यस आह्वानले तपाईंका सन्तान जो हामी सबैका सन्तान हुनेछन्, उनीहरू संसारकै सबैभन्दा शान्त, खुशी, चेतनशील, समृद्धशाली, शक्तिशाली, ज्ञानी, ध्यानी र उत्कृष्ट जातिका रूपमा स्थापित हुनेछन् । यो तपाईं हाम्रो निरन्तर शताब्दीको योग, ध्यान, प्रकृतिको बल र ब्रह्माण्डको ऊर्जासँग समाहित बाट मात्रै सम्भव हुनेछ ।
हे पराक्रमी सन्ततिहरू,
तपाईँहरूका पुर्खाका रूपमा हामी यतिखेर अत्यन्तै तीब्र परिवर्तनकारी युगमा छौँ, समयको अर्कै कालखण्डमा छौँ । हामी बाँचिरहेको यो युग जसलाई हामी कलियुग, अँध्यारो युग भनिरहेका छौँ, हामी सबै मिलेर यस युगलाई अर्को उज्यालो र चेतनाको युगमा रूपान्तरण गर्ने अभियानमा जुटेका छौँ । नेपाल अधिराज्यबाट यो परिवर्तनको शुभारम्भ भइसकेको छ। अबको एक दशकभित्र नेपाल अधिराज्य नयाँ युगमा रूपान्तरित हुनेछ, र अर्को एक शताब्दीसम्म यो परिवर्तन निरन्तर रुपमा चलिरहनेछ विश्वव्यापी रुपमा, ब्रह्माण्डीय रुपमा । हामीभन्दा युगौँअघिका हाम्रा ऋषिमुनि, योगी-तपस्वी, पूज्य गुरुदेवगण, गुरुमातृशक्तिहरू, दैवी जननी देवीहरू, ज्योतिर्मय ध्यानी-ज्ञानी महात्माहरू, मानवता र चेतनाका पुजारी महापुरुषहरू, महान नारीहरू, सम्पूर्ण धर्मपथका गुरुजन, संत, महन्त, सन्यासी आत्माहरू, ज्योतिषगण एवं श्रद्धेय आध्यात्मिक अभियन्ताज्यूहरू बाट एकबद्ध रूपमा निरन्तर चलाइरहेको अभियानमा समाहित हुन तपाईँहरूका सबैसबै आस्थाका आदरणीय पुर्खाहरूलाई आह्वान गरिरहेका छौँ ।
हामी कतिले आफ्नै अन्तरशक्ति र अन्तरचेतनालाई बिउँझाएर यो युगभन्दा अगाडि आइसकेको छौँ । कतिको अन्तरशक्ति र अन्तरचेतनालाई यस भौतिक युगको पूर्ण बादलले ढाकिदिरहेको छ। हामी सबै मिलेर, ज्ञानको शक्ति जगाएर यो बादल हटाइदिएर सपनाबाट विपनामा आउँदै गरेको नयाँ युग जसलाई चेतनाको युग, परिवर्तनको युग, प्रेमको युग, उज्यालो युग, प्रकाशको युग, संगम युग, मानवताको युग, शान्ति र सद्भावको युग, सत्ययुग सबैले आफ्नो आफ्नो तरिकाले सम्बोधन गरिरहनुभएको छ, सँगसँगै बाँच्ने योजनाका साझा अभियानमा जुटेका छौँ । हामी यसमा कत्ति पनि चिन्तित छैनौँ तर पूर्ण परिवर्तनको अपेक्षा गर्नु एक विशाल चुनौती हो र पनि यसका लागि साहस, संयम, एकबद्धता, योग, ध्यान, ज्ञान र आध्यात्मिक शक्तिको जागरणको संयोजनबाट विश्वासको जगलाईलाई जन्माउनु अत्यन्तै जरुरी छ ।
हे हाम्रा विवेकी सन्ततिहरू,
जसरी घनाघोर औँशीको रातपछि क्रमशः सुन्दर पूर्णिमाको रात आउँछ, जसरी उकालो हिँड्दैहिँड्दै गइसकेपछि सबैतिर एकैपटकमा हेरेर धित मार्न पाइने मनमोहक उचाइ अवश्य आउँछ, त्यसै गरी दुःख, मेहनत र परिश्रमपछि सुख अनि सफलता र खुसीको फल अवश्य आउँछ । हामी लामो दुःख, बलिदानको अनुभव लिएर अनि अपराध, हिंसा, हत्या, युद्ध, आतङ्क, घृणा, गाली, परित्याग, ईर्ष्या, लोभ, अज्ञानता, भय, नैराश्यता, त्रास सबैलाई परस्त गर्दै , चिर्दै उज्यालो युगमा प्रवेश गरिरहेका छौं । प्रेमको न्यानो स्पर्शले हामीलाई छोइसकेको छ। प्रेम–जो नयाँ युगको मूल हो–अझै के हो भन्ने झन् गहिराईमा जान्ने कोसिस गर्दैछौं! खोजी गर्दैछौं !
हामीले आफ्नो अन्तर हृदयबाट केवल हाम्रो तेस्रो ज्ञान नेत्रले अनुभूति गर्नु छ, हेर्नु छ, मात्र देख्नुछ अन्तर्दृष्टिबाट।
हे गौरवशाली सन्तानहरू,
कलियुगलाई रूपान्तरण गर्ने दिव्य साहस, समर्पण, योगदान र बलिदानका अमर ज्योति–धारी मेरा पूज्य पुर्खाहरूलाई सम्झँदै — ऐनाअगाडि उभिएर आफ्नै आत्मालाई प्रणाम गर्नु, आत्मालाई नै सलाम गर्नु।
स्वयंलाई सम्झाउनु — “म तिनै वीर, साहसी, पराक्रमी, युग-परिवर्तक वंशका ज्ञानी सन्तान हुँ, जसले प्रेम, योग, ध्यान, अन्तरचेतना र आध्यात्मिक शक्तिको बलले युगलाईनै प्रकाशमय पथमा डोर्याए।”
आफ्ना दुई हात जोडेर हृदयसँग मिलाउनु — किनभने यही योग, यही ध्यान, यही प्रेम र चेतनाको आविर्भावले युग रूपान्तरित हुन्छ।
त्यसै क्षण आत्मालाई थप प्रबल पार्दै भन्नु — “मेरा पुर्खाजस्तै साहसी र पराक्रमी म पनि हुँ। जुनसुकै परिस्थिति आए पनि मेरो अन्तरशक्तिबाट त्यसलाई समाधान गर्ने क्षमता मसँग छ।”
आफ्नै कर्तव्य र धर्मलाई सम्झँदै पूर्ण विश्वासका साथ उद्घोष गर्नु —
“म धैर्यवान् छु, सहनशील छु, सिलवान छु, सत्यपथमा अविचल छु। मेरो जीवनका प्रत्येक चुनौतीलाई सहजताको साथ पार गर्ने आत्मबल मसँग छ।”
यसरी, साहसी, पराक्रमी, दूरदर्शी, प्रेमी, योगी, ध्यानशील, आध्यात्मिक, विवेकी र चेतनशील पुर्खाहरूले स्थापना गरेको यस महामानव युगलाई संरक्षण गर्ने दिव्य संकल्प लिनु।
मानवीय धर्म, आध्यात्मिक बल, प्रकृतिको नियम, ब्रह्माण्डको तालमेल र सृष्टिको सनातन विधानलाई सदा पालना गर्ने प्रतिज्ञा गर्नु। सदा “म चैतन्य शक्ति हुँ” भनेर स्मरण गराउनु ।
युग बदल्ने कार्य केवल इतिहासमा मात्र होइन, हाम्रो आत्मामा पनि पुनः जागृत हुन्छ।
त्यसैले, हामी सबै मिलेर पुर्खाहरूको दिव्य ज्योति बोकेर सत्य–चेतना–प्रेमको शाश्वत पथमा सदा अग्रसर हुनेछौं।
हाम्री माताश्री जन्मिनुभएको आजकै शुभ दिनमा आजभन्दा ३६५ दिन अगाडि हामीले विश्वप्रेम यात्राको मानव एक परिवार भन्दै प्रारम्भिक योजना सार्वजनिक गरेको थियौँ । उक्त यात्रालाई निरन्तरताका साथ अगाडि बढाउँदै छौँ । हामी यस यात्राका क्रममा संसारभरिका प्रेमी मानवजनबाट प्रेमसम्बन्धी कम्तिमा १० लाखवटा कविता लेखाएर त्यसको ज्ञान बटुल्दै विश्वको सबैभन्दा ठूलो पुस्तक निकाल्ने अभियानमा अगाडि बढेको छौँ । युग परिवर्तनको आधार बन्ने छ यो पुस्तक- विश्व मानव समुदायलाई एउटा शान्त र प्रेमको महान् सन्देश दिएर। यो सबै तपाईँ सन्ततिहरूले गौरव गर्ने एक कालखण्डको पुर्खाको प्रतिनिधित्व गर्न सकूँ भन्ने अभिलाषाले भएको हो, कर्म रचिएको हो ।
महापरिवर्तन र युग रूपान्तरणसम्बन्धी योजनाको विस्तृत जानकारी अगाडि निरन्तर उपलब्ध तपाईंका पुर्खाहरूलाई गराइँदै जानेछौँ। यो के हो ? म को हुँ भन्ने आफैले आफैलाई प्रश्न गरिदिनुहुन र उत्तर खोज्न समेत र युग परिवर्तनको लागि पूर्ण तयारीमा रहनसमेत तपाईहरुकै पत्र मार्फत तपाईंका पुर्खाहरूलाई विनम्र अनुरोध पठाउँदैछु। तपाईँहरूका पुर्खाले
आ–आफ्नो कर्मको आधारमा नै यस युगमा प्रवेश पाउनुहुनेछ। तस्पश्चात् तपाईँहरूका हामी सम्पूर्ण महान पुर्खाहरू एउटै शक्ति बनेर यो सृष्टिको महानवयुग परिवर्तनमा सहभागी बन्नेछौं ।
सृष्टिकर्ता, ब्रह्माण्ड, प्रकृति र समयले ले हामीलाई भविष्यको बारेमा सोच्ने, कल्पना गर्ने, योजना बनाउने क्षमता दिएको छ तर परिणाम जान्ने अधिकार र ज्ञान दिएको छैन ।
अगाडि आउने हरेक कार्य र सफलताका लागि जानकारी लिन अनि सुझाव दिन र सहभागि बन्नको लागि हामी तपाईँहरूका सम्पूर्ण आदरणीय पुर्खाहरूलाई आजदेखि अहिलेलाई हाम्रो साइट voiceofkabin.com मा रचना मार्फत अथवा आवाज मार्फत निरन्तर जानकारी गराउँदै जानेछौँ जसले गर्दा तपाईंहरूको लागि ज्ञानको अभिलेख बन्दै जाओस्।
हार्दिक आभार !
तपाईँहरूलाई सदा प्रेम , शक्ति र आशीर्वाद ।
तपाईँहरूको एक असल र ज्ञानी पुर्खा
कवीन्द्रराज सिटौला “जिज्ञासु”