रन्जिता पराजुली सिटौलालाई चिठी

रन्जिता पराजुली सिटौलालाई चिठी

प्रियसी रञ्जिताजी,

तिमी मेरो जीवनको यो जुनीमा प्रेमिका भएर आएकोमा म आफूलाई असाध्यै भाग्यमानी ठान्दछु। तिमीले आफ्नो हृदयका गहिरा भावनाहरू बिना कुनै आडम्बर, बिना कुनै डर, केवल सत्य र आत्मीयतासहित मलाई समर्पण गर्नुभएको छ — त्यो मेरो लागि जगतकै अनमोल उपहार हो।

तिमीले दिएको अनुमति र आशीर्वादले, हाम्रो प्रेमका गोप्य तर पवित्र पत्रहरूलाई संसारसँग बाँड्ने अवसर चाँडै विश्वलाई सुनाउँदैछु। यस अवसरका लागि म तिमीप्रति हार्दिक आभार र कृतज्ञता प्रकट गर्दछु। किनकि हाम्रो प्रेम निजी भए पनि प्रेम आफैंमा कहिल्यै निजी हुँदैन;
किनकि प्रेम कुनै व्यक्तिको स्वामित्व होइन —यो त आत्माहरूको साझा धड्कन हो।

प्रेम सधैं खुला किताबजस्तै हुन्छ —जहाँ प्रत्येक पाना ब्रह्माण्डका रहस्यहरू लेखिएका हुन्छन्,जसलाई पढ्नको लागि आँखाको होइन, हृदयको आँखा आवश्यक पर्छ। यो आकाशजस्तै खुला र विशाल हुन्छ —जहाँ सीमा हुँदैन, जहाँ प्रत्येक तारा अर्कोको उज्यालामा विलय हुन्छ, र प्रेम आफैं अनन्त यात्रामा निस्कन्छ।

यो साझा हुन्छ —किनभने प्रेमलाई रोक्न सकिँदैन, बाँध्न सकिँदैन, यो त अस्तित्वको साझा सास हो, जसले “सबै प्राणीहरूलाई एकै लयमा श्वास फेर्न सिकाउँछ”।

र अन्ततः प्रेम नै त्यो शक्ती हो जसले अन्धकारमा उज्यालो ल्याउँछ,
अहंकारमा आत्मा जागाउँछ, र जगतलाई आफ्नो असली रूप — करुणा र चेतनाको प्रकाश — देखाउँछ।

हामीले गरेका प्रेमका पत्रहरूलाई पुस्तकको रूपमा प्रस्तुत गर्ने निर्णय केवल हाम्रो व्यक्तिगत कथा होइन, यो त युगलाई उपहार दिने संकल्प हो। यसले हाम्रो छोरी कृपा र उनको पुस्तालाई मात्र होइन, सम्पूर्ण विश्वलाई प्रेम बुझ्न, प्रेम महसुस गर्न र प्रेमलाई जीवनको सार बनाउन सानो भए पनि सहयोग गर्नेछ भन्ने दृढ विश्वास छ।

आज म भावुक हुँदै, २६ वर्षअघि हामीले एकआपसलाई लेखिएका हस्तलिखित पत्रहरू जसका प्रत्येक अक्षरमा एकआपस प्रतिको स्पन्दन झल्किएको छ, एक एक पेज अधुरै भएपनि पुस्तक आउनु अगाडि जस्ताको तस्तै सार्वजनिक गर्दैछु।

 

बाँकी सबै पत्रहरूलाई १५ महिनाभित्र पुस्तकको रूपमा संसारसमक्ष ल्याउन तिम्रो निरन्तर साथ र प्रेममय सहयोगको हार्दिक अनुरोध गर्दछु।

 

तिमी मेरो प्रेरणा हौ, तिमी मेरो जीवनको उज्यालो हौ, र तिमी मेरो प्रेमको अमर कविता हौ।

अन्तिममा मेरो बाँकी जीवन तिमीसँगै हुनेछ, तिमी मसँगै हुनेछौ छोरी पनि सदासँगै रहनेछिन्। मेरो सम्पूर्ण समय तिमीलाई नै समर्पण हुनेछ, तिम्रो विश्व भ्रमण गर्ने सपना पनि पुरा हुनेछ !

अनन्त प्रेमसहित,

बुबाश्री