हे पवित्र पानी
नमस्कार एवं अभिवादन, हे पवित्र पानी !
तिमीलाई शान्ति र विश्राम दिलाउने शक्ति हामी प्रत्येक मानवभित्र निहित छ भन्ने
सन्देशसहित,
म तिमीप्रति आफ्नो श्रद्धा, प्रेम र कृतज्ञताको भावना अर्पण गर्दैछु।
केही कुरा कवितामार्फत, केही शब्द मानवजातिलाई लेखिएको पत्रमार्फत —
म तिम्रो सेवा र सम्मानमा समर्पित छु।
यदि यो सेवकप्रति तिमीले आशीर्वादका थोपा झारिदियौ भने,
त्यो मेरो विश्वास र कामनाको शुद्ध पुष्प हुनेछ,
हार्दिक धन्यवाद र अनन्त कृतज्ञता।
गुणीपानी
जीवनमा पहिलो खुवाइने पनि तिमी नै,
अन्तिम बिदाइमा अर्पण गरिने पनि तिमी नै।
तिमी नै अमृत, तिमी नै पञ्चामृत —
जीवनको मूल स्वाद, मृत्युको अन्तिम स्पर्श।
तिमी नै छाल, तिमी नै समुन्द्र,
तिमी नै सागर, तिमी नै महासागर।
जहाँ तिमीको गर्जन सुन्छ सृष्टि,
जहाँ तिम्रो मौन सुन्छ आत्मा।
तिमी नै छहरा, तिमी नै झरना,
तिमी नै ताल, जसमा आकाश मुस्कुराउँछ।
तिमी नै बादल, तिमी नै इन्द्रेणी —
रङ र रूपमा बदलिँदै पनि, तिमी कहिल्यै हराउँदैनौ।
रुख बिरुवालाई तिमी नै,
सबै प्राणीलाई तिमी नै,
प्रकृतिलाई पनि जीवन दिने तिमी नै।
तिमी बिना न बोट फुल्छ, न मन फुल्छ।
तिमी नै कुलो, तिमी नै खहरे,
तिमी नै खोला, तिमी नै नदी —
जसरी तिमी बग्छौ आफ्नै बाटोमा,
त्यस्तै बग्न सिकाउँछौ हामीलाई पनि।
तिमी नै झरी, तिमी नै बाढी,
तिमी नै सुनामी, तिमी नै विनाश।
तर विनाश पनि तिम्रो पुनर्जन्मको आह्वान हो,
जहाँ विनाशपछि सृजनाको सुगन्ध फिजिन्छ।
तिमी नै हिउँ, तिमी नै हिमाल,
तिमी नै आनन्द, तिमी नै सृष्टि।
तिमीले स्पर्श गरेपछि ढुङ्गा पनि पवित्र हुन्छ,
र मन पनि निर्मल बन्छ।
तिमी नै नदीनालामा गीत,
तिमी नै बालबालिकाको हाँसो,
तिमी नै किसानको पसिना
तिमी नै किसानको प्रार्थना,
तिमी नै आमाको आँसु र हाँसो,
तिमी नै कविको प्रेरणा।
हे पानी !
तिमीमा प्रेमको भाषा बस्छ,
तिमीमा शान्तिको छाया फैलिन्छ,
तिमीमा भगवानको मुस्कान झल्किन्छ।
तिमी शुद्धता हौ, तिमी क्षमाशीलता हौ,
तिमी नम्रता हौ, तिमी दृढता हौ।
तिमी बग्छौ, तिमी झर्छौ,
तर कहिल्यै हार्दैनौ —
तिमी निरन्तर सृजनामा, निरन्तर जीवनमा।
हामी तिमीमै बनिएका छौं —
सात भाग तिमी, एक भाग सपना।
त्यसैले जब हामी प्रेम बोल्छौं,
तिमी हाँस्छौ हाम्रो भित्र,
र जब हामी रिसाउँछौं,
तिमी रुन्छौ हाम्रो नशाभित्र !
तिमी सधैं सम्झाउँछौ —
जीवन पनि तिमीझैँ बनोस्,
प्रवाहमान, पवित्र र प्रेमपूर्ण।
सबै सबै आदरणीय मान्यजनहरू एवं सबैमा प्रेमिल नमस्कार !
शब्द र पानी भित्रको चेतनाको सुन्दर विज्ञान र अद्भुत सन्देश यहाँहरुलाई साझा गर्दैछु;
यदि यहाँहरुलाई जानकारी छैन भने जापानका प्रसिद्ध वैज्ञानिक, लेखक र अनुसन्धानकर्ता Dr.
Masaru Emoto (डॉ. मसारु एमोटोले) संसारलाई एउटा अद्भुत सत्य देखाए —
पानी पनि सुन्छ, महसुस गर्छ, र प्रेम वा घृणाको कम्पनलाई ग्रहण गर्दछ
उनको यो खोजले विज्ञान र अध्यात्मबीचको दूरी घटायो।
यसले देखायो — शब्द, भावना र चेतनाले मात्र होइन, प्रेम र कृतज्ञताले पनि संसार बदल्न सक्छ।
डॉ. एमोटोले विभिन्न साधारण पानीलाई विभिन्न शब्द, भावना, संगीत र वातावरणमा राखे र त्यसको
क्रिस्टल संरचना गहन अध्ययन गरे।
उनले एउटा पानीलाई "I love you" (म तिमीलाई माया गर्छु), "Thank you" (धन्यवाद, कृतज्ञता),
"Peace, Happy" (शान्ति, खुसी) जस्ता सकारात्मक शब्दहरू बोलेर वा लेखेर राखे,
अर्को पानीलाई "I hate you" (म तँलाई घृणा गर्छु), “You are a failure” (तिमी असफल छौ), “You fool!”
(तिमी मूर्ख!), "War" (युद्ध, आतंक) जस्ता नकारात्मक शब्दहरू बोलेर वा लेखेर नजिक राखे।
पछि उनले यी पानीका नमूनालाई जमाएर उच्च गतिको माइक्रोस्कोपमा हेरे,
परिणाम अद्भुत थियो —
सकारात्मक शब्द वा भावना पाएको पानीले सुन्दर, रङ्गीन,सममित, उज्यालो हिमकणजस्ता क्रिस्टल
बनायो।
नकारात्मक ऊर्जा पाएको पानी भने टुक्रिएको, अपूर्ण, अराजक र कुरूप देखियो।
त्यो क्षणमा विज्ञान र अध्यात्म भेटिए —
एमोटोले प्रमाणित गरे कि पानी चेतनशील छ,
र त्यसले ऊर्जा र कम्पन ग्रहण गरेर आफ्नो रूप नै परिवर्तन गर्छ
यसले मानव जीवन, समाजका र प्रकृतिका लागि शक्तिशाली सन्देश स्थापना गर्यो:
मानव शरीर ७०% पानी हो। शरीरको प्रत्येक कण, प्रत्येक Cell (कोशिका) भित्र पानी बगेको छ,
हाम्रो प्रत्येक सोच, भावना र शब्दले हाम्रो भित्री “पानी”मा तरंग पैदा गर्छ जसको प्रत्यक्ष असर हाम्रो शरीर र
बाह्य संसारमा पर्दछ।
प्रेम, धन्यवाद, शान्ति र सकारात्मक सोचले हाम्रो शरीर र आत्मालाई शुद्ध, सन्तुलित र स्वस्थ बनाउँछ,
रिस, घृणा, भय र निराशाले हाम्रो भित्रको सौन्दर्य विखण्डित गर्छ, असन्तुलन ल्याउँछ।
त्यसैले, जब हामी प्रेमका शब्द बोल्छौं — हामी केवल अरूलाई होइन, आफ्नो आत्मालाई पनि उपचार
गर्दैछौं।
जब हामी “धन्यवाद” भन्छौं — संसारको कम्पन उच्च हुन्छ,
र जब हामी शान्तिको सोच राख्छौं — समाजको चेतना उज्यालो हुन्छ।
हाम्रो जीवनका लागि यो गहिरो प्रेरणा बनेको छ:
“यदि विचार र शब्दले पानीको स्वरूप परिवर्तन गर्न सक्छन्,
तिनीहरूले मानव हृदय, समाज र संसारलाई पनि रूपान्तरण गर्न अवश्य सक्छन्।”
त्यसैले,
हर एक शब्दमा प्रेम भर्न सिकौं,
हर एक विचारमा कृतज्ञता राखौं,
र हरेक दिनको सुरुवात “धन्यवाद” बाट शुभारम्भ गरौं।
किनकि तपाईँ भित्रको पानी, तपाईँ भित्रका सेल सेलको पानी
तपाईँका सुन्दर सोच, सुन्दर भावना र प्रेमपूर्ण बोलीको हार्दिक प्रतीक्षा गरिरहेकाछन्,
त्यो सुन्दर तरंगले तपाईँको जीवन, मानवता र विश्वलाई नयाँ आकार अवश्य दिनेछ —
शान्ति, प्रेम र प्रकाशले भरिएको।
शब्द बदलौं, चेतना बदलिन्छ! चेतना बदलौं, संसार बदलिन्छ।
हे पानी तिमीलाई हृदयभरिको प्रेम !
जीवनभरको कृतज्ञता !!
पानी तिम्रो सदा जय जय होस् !!!
तिम्रो सदा जय जय होस् !!!
– कवीन्द्र सिटौला ‘जिज्ञासु’
