अमेरिकाबाट बन्धक बिपिन जोशीलाई विशेष पत्र
अमेरिकाबाट बन्धक बिपिन जोशीलाई विशेष पत्र
असोज २०, २०८२ मंगलवार (October 7, 2025)

प्रिय विपिनज्यू,
नमस्ते !
म परिवारको सबैभन्दा कान्छो सन्तान, तपाईं एउटै छोरा। मेरा सात जना दाजुभाइमध्ये छ जना हुनुहुन्छ, तर भाइ भनेको अनुभूति कहिल्यै पाएँनँ। कहिलेकाहीँ लाग्थ्यो — यदि भाइ हुन्थ्यो भने, म उसलाई कस्तो माया गर्थेँ होला कस्तो गर्व गर्थेँ होला ?
तर जीवनले सिखायो — अभावले नै आत्माको पूर्णता खोज्न सिकाउँछ। त्यसैले आज तपाईंलाई म आफ्नै परिवारको भाइ सम्झेर, प्रेम र कर्तव्यका प्रत्येक पाइलामा तपाईंको नामसहित अघि बढिरहेको छु।
प्यारो भाइ बिपिन,
दुई वर्षअघि आजकै दिन अक्टोबर ७ — मानव इतिहासकै एक भयावह र अमानवीय दिन।
त्यो दिन १७ जना नेपाली विद्यार्थी युवा — देशको भविष्य बोकेका किसानका छोराहरू — इजरायलको भूमिमा पसिना र सपनाको खेती गर्दै थिए। तर त्यही दिन, १० जना आफ्नै रगतले पृथ्वीलाई रातो पार्नुपर्यो, तीन जना घाइते भएर जीवनसँग लड्नुपर्यो, र तपाईं‘ अपहरित भई अन्धकारको कोठामा बन्धक हुनुहुन्छ।
तर आज यो पत्र पीडाको होइन — श्रद्धा र प्रेरणाको पत्र हो।

तर मलाई अर्कै कोणबाट तपाईँलाई चिठी लेख्न मन लाग्यो। आज इतिहासमा तपाईंले हाम्रा पुर्खाहरूलाई सम्मान गरेको दिन, विश्व हाम्रो विविध पहिचानमध्ये हाम्रा “वीर गोर्खाली” पुर्खाहरूले हामीलाई छोडेको पहिचान हो। सायद त्यही शक्तिको तरङ्गले आजभन्दा दुई वर्ष अगाडि आजकै दिन आफ्ना साथीलाई बचाउन लड्नुभयो । त्यो अदम्य आत्मा नै तपाईंको शरीरमा पनि प्रवाहित थियो — जब तपाईंले आफ्ना साथिहरूको जीवन बचाउन ग्रेनेड समात्नुभयो, मृत्युको सामना गर्नुभयो, र बन्धक हुनुभयो।
तपाईंको यो बलिदान इतिहासको पानामा मात्र होइन, मानव आत्माको पुस्तकमा सुनको अक्षरले लेखिनु पर्छ। नेपाल सरकारले तपाईंलाई उच्चतम नागरिक सम्मान दिनु न्याय हुनेछ — किनकि तपाईंको वीरता नेपालको नै आत्मा हो।
हाम्रा कोही पनि दुश्मन छैनन् तर हामी न्यायको लागि लड्छौँ, निर्दोष तपाईंका साथीहरू मर्नु हुँदैन भनेर तपाईंले बंकरमा फालिएको ग्रेनेड समाएर बाहिरै फाल्दिनुभयो। साथीहरूलाई बचाउन लुक्न जाओ भन्दै आफ्नै ज्यान जोखिममा राख्नुभयो र अपहरित हुनुभयो । मैले इतिहासमा पढेको थिएँ, हाम्रा धेरै आदरणीय वीर गोर्खाली हरुका वीरताका कथामध्ये दोस्रो विश्वयुद्ध मे १९४५ बर्मामा आदरणीय लछिमन गुरुङज्यू ले साथीहरुलाई बचाउँदै एक्लै २०० जना जापानिज लडाकु हरूलाई हराउँदै उनीहरूले फालेको तीनवटै ग्रेनेड समाउँदै उनीहरुलाई नै प्रहार गर्दै आफू सक्त घाइते भएपछि पनि एक हातले “आऊ र गोर्खासँग लड!” भनेर चिच्याई चिच्याई लडाईको कथाले किन हामीहरूलाई “वीर गोर्खाली” भनिँदो रहेछ भनेर मलाई सधैं प्रेरित गरिरहन्छ। उहाँलाई पछि बेलायतमा सेनाहरूलाई वीरताको लागि प्रदान गरिने सर्वोच्च पदक भिक्टोरिया क्रस बाट ऐतिहासिक सम्मान गरियो ।


एउटा गोर्खालीलाई देशको रक्षार्थ दिएको सैनिकको जिम्मेवारी कसरी बहन गर्छ भन्ने यस्ता धेरै कथाहरू छन्, तपाईँको कथा सुनेर- मलाई एकपल्ट फेरि कता हाम्रो बहादुरीको झझल्को आयो, त्यसरी नै वीरतापूर्वक तपाईँहरूले आफ्नो मित्रताको कर्म र धर्म निभाउनुभयो। हाम्रो वीरता युद्धमा मात्र सीमित हुँदैन, हामी जीवनका हर क्षेत्रमा वीर गोर्खाली बन्न प्रयत्नरत छौ- सदा रहिरहनेछौं।
यही घटनाबाट जन्मेको मेरो कविता “आमा भएर हेर” त्यही ठाउँमा पुरा गरी लोकार्पण गर्न मन लाग्यो, अनि अब फेरि फेरि आफ्नो र देशको भविष्य बनाउन हिँडेका युवाहरूले फेरि विदेशको भूमिमा आफ्नो रगत र जीवन बलिदान गर्न नपरोस् भनेर शान्तिको प्रार्थना गर्न मन लाग्यो, संसारका सबै नेपाली जातिहरूलाई धैर्यतापूर्वक रही हिम्मत नहारी तपाईँको लागि निरन्तर आवाज र सक्रिय भई बस्नुहोला भनेर भन्न मन लाग्यो, तपाईंको बुबाआमा बहिनी र परिवारसँग हामीसँगै छौँ भनेर त्यही पुगेर भन्न मन लाग्यो। यिनै कारणहरूले म भर्खरै तपाईं इजरायलमा पुगेर, युद्ध क्षेत्रकै वारी त्यहाँका सामाजिक अभियन्ताज्यूहरू सँगै, तपाईँ र युवासाथीहरू बस्ने घर, तपाईं सुत्ने कोठा, तपाईंले खाने किचन मा पुगेर तपाईँले पानी पिएकै धाराबाट पानी पिएर, घरलाई छोएर तपाईँ सुत्ने कोठालाई प्रार्थना गरेर, तपाईँहरूले घरको भित्तामा टाँसेको नेपाली झण्डा र भित्तो लाई ढोगेर अहिले अमेरिका फर्केको छु।

प्रिय भाइ बिपिन,
हामी पुग्नुभन्दा अगाडि केही समय अगाडि नेपालबाट तपाईंको ममतामयी आमा र प्रिय बहिनी तपाईं बस्ने ठाउँमा इजरायली सरकारको सहयोगमा पुगिसक्नुभएको थियो।
तपाईंको आमा र बहिनीको बारेमा केही भन्न चाहन्छु।
दुई वर्षसम्म पनि तपाईँ नफर्कँदा परिवार पक्का पनि पीडामा हुनुहुन्छ। दुई वर्ष बिते — न तपाईँको समाचार, न तपाईंको आवाज !
तर उहाँहरूले हार मानेनन्। विगत दुई वर्षदेखि उहाँहरु कहाँ मात्रै पुग्नुभएन ? नेपालका हरेक सरकारी अफिस, प्रधानमन्त्रीहरू, युद्ध क्षेत्रका राष्ट्रका एम्बासडरहरू, कुटनैतिक व्यक्तित्वहरू, सामाजिक संस्थाहरू, मानव अधिकार सङ्घ, भर्खरै मात्र इजरायलका राष्ट्रपति र प्रधानमन्त्री, अहिले अमेरिकामा युनाइटेड नेसनका महासचिव, विभिन्न राष्ट्रका प्रतिनिधिहरु, अमेरिकी कङ्ग्रेस म्यान, सिनेट्स र उहाँहरू मिलेसम्म अमेरिकी राष्ट्रपतिलाई पनि भेट्ने प्रयासमा हुनुहुन्छ। उहाँहरूको यात्रा युगको मातृत्वको परिभाषा बनेको छ। उहाँहरू तपाईंको नाममा न्याय र आशाको ज्योति बोकेर हिँडिरहनुभएको छ। एउटा आमाको आँसु सागरभन्दा गहिरो हुन्छ, तर त्यस आँसुले संसार धुन्छ। त्यो आँसुमा तपाईँको मुक्ति लुकेको छ, बिपिन।
पहिला तपाईँ भएको नभएको हामी सबैलाई जानकारी थिएन, जब तपाईँको पिक्चर अरु बन्दकहरूसँगै सार्वजनिक गरियो त्यसपछि तपाईँ पक्कै परिवारको इन्तजारमा हुनुहुन्छ भन्ने कुरा विश्वास हामीहरुलाई बढ्यो। तपाईँको आमालाई सायद त्यही चिन्ता होला प्रत्येक दिन तपाईँ कसरी बस्नुहुन्छ, कहाँ बस्नुहुन्छ ? के खानुहुन्छ ? तातोपानी कहिले पिउन पाउनुभएको छ कि छैन? शारीरिक र मानसिक रुपमा तन्दुरुस्त हुनुहुन्छ कि हुनुहुन्न ? बिमारी भयो भने औषधि कसले दिन्छ ? कहाँ सुत्नुहुन्छ ? टनेलको अँध्यारो कोठामा कसरी बस्नुहुन्छ ? तपाईं के सोचेर पलहरु बिताउनुहुन्छ ? कतिखेर के हुन्छ भनेर मानसिक तनाव कति भइरहेको छ तपाईँलाई ? तपाईंको आवाज सुन्न कहिले पाउने होला ? सायद यिनै यिनै कुराहरुले आमालाई सताउँदो हो। सायद कति पल्ट उहाँ मुर्छा पर्नुभयो होला, बेहोस हुनुभयो होला, ब्युँझुदा तपाईँ हुनुहुन्न ! यसको बावजुद पनि एउटा आमा आफ्नो सन्तान खोज्नको लागि जे पनि गर्न सक्छिन् भन्ने कुरा तपाईंको ममतामयी आमा पदमा जोशीले मानव जातिलाई उदाहरण दिनुभएको छ। तपाईँको मातापिता दुवै शिक्षक हो, अरुलाई ज्ञान बाँड्ने ! त्यसैले, पक्का पनि धैर्यतालाई अँगालेर उहाँहरू तपाईंको इन्तजारमा हुनुहुन्छ।
तपाईँको प्रिय बहिनी पुष्पाले दुईवटा रक्षाबन्धन गुमाउनुभयो। तर उहाँ यसपालिको भाइटीका तपाईंसँगै मनाउने शीघ्र प्रतिक्षामा हुनुहुन्छ, विश्वासी हुनुहुन्छ, कटिबद्ध हुनुहुन्छ। तपाईँको बहिनीलाई अर्को एङ्गलबाट सम्झाउने प्रयत्न गर्दैछु। जे हुन्छ कुनै कारणको लागि भएको हुन्छ, जुन भविष्य हामीलाई थाहा हुँदैन। तपाईँ चाँडै नै छुटेर आइसक्दाखेरि तपाईंको बहिनी विश्वमा एउटा नेतृत्व लिन सक्ने सक्षम युवाको रुपमा स्थापित हुनुभएको छ। उहाँ अब संसारका जुनसुकै देशका राष्ट्रपति, प्रधानमन्त्री, युनाइटेड नेसनका महासचिव, सैनिक अफिसरहरू, मानव अधिकारका नेतृत्वहरू, सबैसँग न्यायको लागि आफ्नो आवाज बुलन्द गर्न सक्ने, अन्तर्राष्ट्रिय जुन ठाउँमा गएर भएपनि, जस्तो भेलालाई पनि सम्बोधन गर्न सक्ने हुनुभएको छ।

तपाईँको लागि सम्पूर्ण आफ्नो करियर नै समर्पण गरेर आफ्नो दाजुको लागि जीवन अर्पण गरेर एउटा बहिनी भनेको अर्थ के हो भनेर आउने सन्ततिहरुलाई उहाँले नयाँ परिभाषा स्थापना गर्नुभएको छ, एउटा बहिनीले आफ्नो दाजुको लागि जस्तोसुकै पनि बलिदान र समर्पण गर्न सक्ने रहेछ भनेर उदाहरण प्रस्तुत गर्नुभएको छ। तपाईँले टनेलको अँध्यारोबाटै आफ्नो बहिनीलाई भूमध्यसागर बाट सायद ध्यानमा बसेर दिएको प्रेम र शक्ति र आशीर्वादको कारणले उहाँले सबै ऊर्जा प्राप्त गरिरहनुभएको छ। एउटा बहिनीको लागि उसको दाजुको आशीर्वाद भन्दा ठूलो शक्ति केही पनि हुन सक्दैन, त्यसरी नै एउटा दाजुको लागि बहिनीले पठाएको प्रेम र आशीर्वाद भन्दा ठूलो शक्ति ब्रह्माण्डमा कुनै हुन सक्दैन । दाजु र बहिनीबीचको आत्मिक सम्बन्ध — समय, दूरी र मृत्यु भन्दा पनि बलियो हुन्छ, पुष्पा अहिले मात्र एक बहिनी होइनिन् — उहाँ न्याय, प्रेम र साहसको नयाँ प्रतिमा बन्नुभएको छ।

प्रिय भाइ,
तपाईं अब बाहिर आउँदाखेरि तपाईंको ठूलो परिवार बनिसकेको छ। तपाईंको परिवारमा अब लाखौँ करोडौं आमाबुबा दाजुभाई,दिदीबहिनीहरु, साथीहरु विश्वभरिबाट तपाईँलाई प्रेमको आशीर्वाद र शुभकामना दिनको लागि इन्तजार गरिरहेका छन् । त्यसमध्ये पनि धेरै इजराइलमा बस्ने नेपालीहरूले तपाईंको लागि त्यही रहेर न्यायको लागि र तपाईंको मुक्तिको लागि सहभागी बनिरहनु भएको छ। सबैको नाम लिन खोद्दा एकजनाको नाम छुट्यो भने त्यो अन्याय हुन्छ तर तपाईँको लागि एकजना दिदी हुनुहुन्छ। हरेक दिन तपाईंको लागि प्रार्थना गर्ने जहाँ पनि पुग्ने सायद तपाईं अपहरित भएको दिनदेखि तपाईंको मन र आत्मासँग जोडिनुभएको छ, तपाईँलाई शक्ति दिइरहनु भएको छ, दुई वर्ष पुग्दा पनि तपाईँलाई भेट्न नपाउँदा उहाँले आमा र बहिनी अमेरिकामा के गर्दै हुनुहुन्छ भनेर मलाई चिन्ता व्यक्त गर्नुभयो र तपाईंको लागि पुकार गर्नुभयो। उहाँलाई मैले सोधेँ; “तपाईँ यति धेरै किन बिपिनजीलाई सम्झनुहुन्छ ?” उहाँले भन्नुभयो “ अक्टोबर ७ २०२३ मा घटना घट्दाखेरि म नेपाल एम्बेसीमा त्यो बेला इजरायलको लागि नेपाली महामहिम राजदूत कान्ता रिजाल सँगै थिएँ। गोली लागेका लागेका भाइहरूको र सामाजिक अभियन्ताहरूको फोन आउँदाखेरि म त्यही थिएँ” एउटा नेपाली अपहरित भएको कुरा तपाईँको साथी हिमाचल कट्टेल बाट थाहा भएको उहाँले बताउनुभयो र हिमाचल कट्टेललाई दुईटा गोली लागे पनि बचेपछि पछि राजदूतावासमै राखेर उपचार गरेको र उहाँले पनि तपाईंको साथीको सेवा गर्न पाएको कुरा अवगत गराउनुभयो। त्यसपछि त्यो संवेदनशील घटनापछि उहाँले तपाईंलाई आफ्नै भाइको रुपमा देखेको र भित्रैबाट मनैबाट तपाईंको रिहाइको लागि सधैँ प्रार्थना गर्ने गरेको बताउनुभयो; “इजरायलको तेल अभिभ मा हुने हरेक प्रदर्शनमा मलाई केले तान्छ थाहा छैन, त्यहाँ पुगेर विपिनको ब्यानर बोकेर ध्यान गरेर रुन मन लाग्छ, प्रार्थना गर्न मन लाग्छ, न्यायको लागि जोडजोडले कराउन मन लाग्छ”।

उहाँ हुनुहुन्छ इजरायलमा रहनुहुने सुजता गौतम र उहाँ लगायत सबैलाई म सलाम गर्न चाहन्छु। आज उहाँले नै तपाईंको साथी हिमाचल कट्टेलको नम्बर दिएर उहाँसँग पनि आज तपाईं हराएको दुई वर्ष पुग्नु अघिल्लो दिनमा कुरा गर्ने मौका पाए तपाईंको बारेमा, तपाईंको सपनाको बारेमा, तपाईंको व्यक्तित्वको बारेमा धेरै कुरा जानकारी पाएँ। उहाँले जानकारी गराएका केही कुराहरु यहाँ राख्दैछु;
तपाईँ र हिमाचल कट्टेल टीकापुर बहुमुखी क्याम्पस कैलालीमा विगत करिब ५ वर्षदेखि साथी हुनुहुँदो रहेछ।

उहाँ गोरखाबाट तपाईं महेन्द्रनगरबाट कृषि पढ्ने, र कृषिकै क्षेत्रमा केही गर्ने सपनाले तपाईंहरूलाई सुदूरपश्चिम विश्वविद्यालयमा तपाईंहरूको भेट भएछ, तपाईँहरूको साथीको ग्रुपमध्ये, तपाईं धेरै मिलनसार हुनुहुँदो रहेछ, विशेषगरी तपाईं एकदमै उत्सुक, नयाँ नयाँ कुरा साथीहरु बीच राख्ने, सृजनशील कुरा गर्न साथीहरुलाई प्रेरित गर्ने, र नयाँ सम्भावनाको खोजी गरिरहने तपाईँको बानी छ रे, फुटबल खेल्ने, गितार बजाउने, र्यापर गीत गाउने गरेर तपाईं साथीहरूलाई हँसाउनु हुन्थ्यो रे, मनोरञ्जन गराउनुहुन्थ्यो रे, तपाईँले एउटा र्यापर गीत पनि गाउनुभएको रहेछ। मलाई लिङ्क पठाइदिनु भो, अत्यन्तै मिनिङफुल , गीतले नेपालको विगत, वर्तमान र भविष्यलाई राम्रो औल्याएको छ, गीतमा नेपाल कहिले कृषिप्रधान देश बनेर आत्मनिर्भर हुन्छ भनेर चिन्ता र सपना व्यक्त गर्नुभएको रहेछ। म पनि किसानकै छोरो हुँ। हामी सबै मिलेर नेपाललाई कृषिमा आत्मनिर्भर बनाउनुपर्छ । गीतअसाध्यै राम्रो लागेर मैले मेरो साइटमा सबैको लागि लिंक राखिदिएको छु। (Please go voiceofkabin.com and click Menu).
सम्भावना खोज्न जाने सिलसिलामा नै कलेज पढिसकेपछि इजरायलमा ११ महिनाको एग्रिकल्चर learn and earn कार्यक्रम मा जाने योजना बनाउनुभएछ। इजरायल एग्रिकल्चर टेक्नोलोजीमा अगाडि पनि भएको कारण र केही पैसा पनि बचत हुने भएपछि त्यहाँ गएर पैसा पनि बचत गरेर आएर, सरकारबाट पाउने कृषि लोन लिएर सानो आफ्नै कृषि फार्म खोल्ने, साथै लोकसेवा पनि दिने, र व्यावसाय गरेर आफू जस्ता युवाहरुलाई रोजगार दिने सपना बोकेर तपाईँ हरू इजरायल आउनुभएको रहेछ। छ दिन काम र पढाइमा बिजी भएपनि, शनिबार बिदाको दिन बास्केटबल खेल्ने, फुटबल खेल्ने गीतहरू गाउने, कतै घुम्न जाने तपाईहरुले गर्ने गरेको हुनुहुँदो रहेछ।
घटना घटेको दिन साइरन बजेपछि तपाईँहरू बंकरमा जानुभएछ , तर तपाईहरु लुक्ने सिलसिलामा हमासले तपाईँलाई देखेपछि तपाईहरुमाथि आक्रमण सुरु भएछ, तपाईँलाई आक्रमणको प्रतिकार गर्न साथीहरुलाई बचाउन सक्दो प्रयास गर्नुभएछ। फेरि प्रहार पछि धेरै साथीहरु दिवंगत हुनुभयो। तपाईँको साथी हिमाचल भाइलाई पनि दुईटा गोली लागेर ढल्नुभएछ। एउटा देब्रे छातीमा र अर्को दायाँ सोल्जरलाई छेडेर गोली भित्र गएछ उहाँ ढलेपछि उहाँसँगै धेरै साथीहरु पनि रगतको पोखरीमै छटपटाइरहनु भएको थियो रे, तपाईलाई अन्तिम पटक हमासले किचनमा समाएर बाहिर निकाल्दै गरेको देख्नुभएको थियो रे त्यसपछि उहाँलाई पछि उपचारर्थ केही साथी उपचार गर्दागर्दै र केही साथीहरु पहिलै दिवंग त हुनुभएछ । उहाँलाई इजरायल प्रहरीहरूले समयमै अस्पताल पुर्याएका कारणले उहाँ बाँच्नुभएको रहेछ। तर गोली शरीरभित्र संवेदनशील ठाउँमा भएको हुनाले अप्रेसन गरेर निकाल्न असम्भव भएको हुनाले गोली बोकेरै उहाँ बाँच्नुपर्ने बाध्यता भएछ, र उहाँ इजरायलमै मास्टर पढ्दै हुनुहुँदो रहेछ। तपाईँहरू १७ जनामध्ये १० जना दिवंगत, दुई जना इजरायलमै उपचारपछि मास्टर पढ्दै, एकजना क्यानडा, तीनजना नेपाल, र तपाईँ कब्जामा !
भाइ बिपिन,
यो सानो पत्रले तपाईंको जीवनको कथाको एक बिन्दु पनि छुँदैन। तर यसले केही महत्वपूर्ण सन्देश दिनेछ, तपाईँ बन्धक बनाइएकै दिन आज यो पत्र तपाईंलाई लेख्न पाएकोमा म दुखी पनि छु समयप्रति कृतज्ञ बन्दै छु- कृतज्ञ यस अर्थमा कि तपाईं जस्तो साहसी युवालाई एउटा भाइ भनेर सम्बोधन गर्न पाइरहेको छु। तपाईलाई हामी यो पनि जानकारी गराउँदैछौं ब्रह्माण्ड, प्रकृति र मानव जातिमा अत्यन्त ठूलो परिवर्तन आइरहेको छ। यसले धेरै कुरा बढार्नेछ, अनि फेरि प्रकृति ग्रह र ब्रह्माण्डलाई फेरि सजाउने यसको लागि तपाईँ र तपाईँको साथीले दिएको बलिदान एक हिस्सा बन्दैछ। यसको वृतान्त तपाईँलाई जानकारी हुँदै जानेछ ।
अन्तमा हामी योगी ध्यानी ऋषिमुनिहरू का सन्तान अरु भएको हुनाले, हाम्रा पुर्खाहरू महिनौसम्म पनि प्रकृतिको शुद्ध हावा मात्र सेवन गरेर ब्रह्माण्डको उर्जासँगै ध्यान तपस्या गर्ने गर्थे। म इजराल पुगेको बेला गाजाको बोर्डरमा पुगेर तपाईंलाई यही उर्जा पठाएको थिएँ, जसले तपाईँलाई जस्तो पनि परिस्थितिमा जीवित राख्न मद्दत गर्नेछ ।
हामी सबैले पठाएको ऊर्जाहरुलाई एकत्रित गरेर सम्पूर्ण र बन्धन जन्जिरहरुलाई तोडेर बाहिर आउनुस्! काहीँ नरोकिनुहोस्! तपाईँलाई गुरुदेवहरू, गुरुमाताहरू, तपाईँका गुरुहरू, मातापिता, तपाईंकी बहिनी, आफन्तहरू, छरछिमेकी, साथीभाइ , नेपाली जनता, नेपाली जाति, नेपाली भाषी, विश्वमा न्याय र शान्तिको लागि आवाज दिने मानवहरू सबैले तपाईँलाई आशीर्वाद र शुभकामना पठाएको छ। त्यही बलले तपाईं बाहिर आउनुस्, किनकि तपाईं केवल बन्धक होइन — तपाईं आत्मा हुनुहुन्छ, शान्तिको सन्देशवाहक, वीरताको प्रतिक, र नेपालको पुनर्जागरणको प्रतीक।

धैर्यतापूर्वक बसिरहनुभएको तपाईँको बाबा यो युगको कथा बाहिर बताउन चाहनुहुन्छ, तपाईँको आमा रुँदा रुँदा आँसु नै सकिएका आँखाहरुबाट तपाईं हाँस्दै आएको देख्न चाहनुहुन्छ, पुष्पा बहिनी तपाईँलाई यसपालि तिहारमा भाइ टिका
लगाईदिनको लागि इन्तजारमा हुनुहुन्छ……साथीहरू तपाईंको र्यापर गीत सुन्न कुरिरहेका छन् ! तपाईँलाई परिवर्तन, सम्भावना र भविष्यले कुरिरहेका छन् !
फर्किनुहोस् भाइ,

हामी सबै तपाईंको बाटोमा उज्यालो बालेर उभिएका छौँ।
हाम्रो आस्था, हाम्रो माया — सबै तपाईंको साथमा छन्।
– तपाईंको दाजु,
कवीन्द्र सिटौला, अमेरिका

