Letter to America

कर्मभूमि अमेरिकालाई पत्र

 

अमेरिका,

आज सेप्टेम्बर २२, २०२५
ठीक आजभन्दा ३४ वर्षअघि, डिसेम्बर १९९१, म युवा विद्यार्थी भएर तिमीलाई पहिलोपटक देख्न पाएँ, भेट्न पाएँ। तिमीसँगै मेरो कर्मको अर्को पानाको यात्रा लाई निरन्तरता दिन पाए।

2505 South Fern St/2701 South Fern St Arlington Virginia 22202 अपार्टमेन्टको अगाडि पार्कको फलैचामा बसेर मेरो ३४ वर्ष अगाडिको छायालाई हेरिरहेको छु। त्यो घर, त्यो फलैचा, त्यो पार्क—जहाँ बसेर मैले जीवनका प्रत्येक दिनका डायरीहरू लेख्थें—त्यही स्थानमा पुगेर आज फेरि एउटा पत्र तिमीलाई लेख्न मन लाग्यो।

त्यही डायरीका पानाहरू मेरो जीवनका मौन साथी थिए—
एक विद्यार्थीको डायरी,
एक आप्रवासीको नयाँ संसारको डायरी,
एउटा सम्भावना खोज्दै हिँडेको युवकको डायरी,
सपना देख्ने तर कहिलेकाहीँ आकाशैभरि हराउने युवकको डायरी,
परिवारबाट टाढा भए पनि परिवारलाई हृदयमा बोकेर बाँच्ने सन्तानको डायरी,
नेपाल राष्ट्रको चिन्तामा डुबिरहेको नागरिकको, युवाको, अनि संघर्षरत आत्माको डायरी।

मेरो कर्मभूमिले गरेको विज्ञान र प्रविधिको परिवर्तन को कथा

यी डायरीहरू वास्तवमा एक जिउँदो शहीदका शब्दहरू थिए, जसले आफूलाई बिर्सेर भविष्यलाई सम्झियो।

त्यसैले, तिमीलाई लेख्ने यो पत्र पुरा गर्नु अघि, ती डायरीहरूको कथा तिमीलाई सुनाउन मन लाग्यो। पत्रलाई पूरा गर्ने वाचा गर्दै, अहिलेलाई यो कलम थाम्दैछु।

अमेरिका,
म नेपालको तेह्रथुमको सानो गाउँमा जन्मिएँ, त्यहीँ पढ्दै हुर्किएँ, झापाको सरकारी विद्यालयमा पढेर हाइस्कुल पूरा गरेँ। 

गाउँको सामान्य पृष्ठभूमिबाट आएको हुँदा मेरो अंग्रेजी व्याकरण प्रायः कमजोर नै थियो। तर त्यस कमजोरीलाई बल बनाउन, आफूलाई निखार्न र नयाँ संसारसँग जोडिन मैले एउटा संकल्प लिएँ—दैनिक अङ्ग्रेजीमा डायरी लेख्ने अभ्यास गर्ने। यही संकल्पका साथ नेपालमै रहँदा हातमा बोकेर ल्याएको डायरी लेखनको यात्रा लगातार ६ वर्षसम्म निरन्तर चलाइरहेँ। 

मलाई आज पनि थाहा छैन, ती डायरीका पानाहरूमा मैले के–के लेखें- तर विश्वास छ, त्यहाँ पक्कै पनि;

त्यहाँ तिम्रो बारेमा लेखिएको छ,
त्यहाँ जीवन छ, जीवनका सम्भावनाहरू छन्,
त्यहाँ संघर्ष छ, परिवर्तनका कथा,
त्यहाँ सपनाको उज्यालो र पीडाको अन्धकार दुवै छन्,
त्यहाँ देशप्रेम र जन्मभूमिप्रतिको माया छ, कर्मभूमि प्रति कृतज्ञता,
त्यहाँ मित्रता, प्रेम, आँसु र हाँसो सबैका छाप र धेरै अभिव्यक्तिहरूले भरिएका हुनुपर्छ ।

त्यसैले आज निर्णय गरेको छु—घर पुगेर ती सबै डायरीहरू संकलन गर्छु र आजैदेखि तिनलाई पुस्तकको रूपमा संसारसमक्ष ल्याउने अभियान सुरु गर्नेछु।

मेरो अंग्रेजीलाई सबल बनाउने प्रयासले आज के मात्र गरेन—
यसले तिम्रो इतिहास र मेरो जीवनको कथा गहिराइमा खोतल्ने बाटो खोलिदिएको छ।

अमेरिका,
तिमीले मलाई धेरै कुरा दिएको छौ। तर सबैभन्दा अमूल्य उपहार भनेको हो— हाम्री छोरी।
उनी केवल मेरी छोरी मात्र होइनन्, तिम्रो  तिम्रो स्वतन्त्रताको प्रतीक एक नारी हुन्, तिम्री नागरिक हुन्। त्यस उपहारका लागि म तिमीलाई अनन्त आभार र गहिरो कृतज्ञता हृदयदेखि नै अर्पण गर्दछु।

अहिलेलाई, तिम्रो बारेमा पहिले नै प्रकाशित गरिएको एउटा कविता यहाँ अर्पण गर्दैछु—

नरिसाइकन सुन है ! कहिँ तिम्रा कमजोरी पनि औँलाएको छु, सच्चा मित्रले नै एक असल मित्रको रूपमा अर्को मित्रका कमी कमजोरीलाई बताइदिएर अर्को सफलताको लागि बाटो बताइदिएको हुन्छ। किनकि ऊ एउटा मित्रको सदा भलो चाहेको हुन्छ ।
यो कविता मेरो प्रेम, मेरो कृतज्ञता, मेरो जीवन यात्राको अनुभूति र आत्मा हो। 

भगवानले अमेरिकालाई आशीर्वाद दिनुहोस् !

 

                       विचित्र अमेरिका

 

अमेरिका !
कुनै समय—
सपनाको देश भनिन्थ्यौ,
तिम्रा मानिसलाई
अर्कै ग्रहका प्राणी ठानिन्थ्यो ।
कोहीले तिमीलाई पाताल पनि भन्थे,
आज तिमी त्यस्तै छौ कि
समयसँगै रूपान्तरित भयौ ?

सुनेको थिएँ—
अब्राहाम लिङ्कनले अठारौँ शताब्दीमै
रङ्गभेदको जंजीर तोडेछन् ।
तिमीले गगनचुम्बी महल उचालेछौ,
धरतीमुनि रेल कुदाएछौ,
आकाशलाई पातालसँग बाँधेछौ—
विकासको जादु गर्दै !
ओ अमेरिका !
तिमी साँच्चै विचित्र छौ ।

गृहयुद्धका घाउ,
विश्वयुद्धका दाग,
आणविक आगोले झुलाएको धरती—
तर फेरि
शान्तिको नाममा तिम्रै सन्तानले
नोबेल जित्छन् रे !
युद्ध लेख्ने हात,
शान्ति पढाउने मुख—
कस्तो विरोधाभास !

तर त्यहाँ जन्मेछन्—
स्रष्टा, द्रष्टा, आविष्कारक—
राइट ब्रदर्शदेखि एडिसनसम्म,
संसारलाई उज्यालो दिने हातहरू !
अन्धकारभित्र पनि
तिमीले सधैं सम्भावनाको दियो जलायौ ।

आर्थिक मन्दीले थिच्दा पनि
न्यूयोर्क, लस एन्जलस,
सयौँ सहरहरू उठे—
लसभेगस मरुभूमिबाट हरियाली बनेझैँ ।
ओ अमेरिका !
तिमी दुःखलाई पनि विकासमा रूपान्तरण गर्ने
एक अनौठो प्रयोगशाला !

मार्टिन लुथरकोसपना
केनेडीकोदृष्टि”,
चन्द्रमासम्म पुगेको यात्रा
तर सपनादेख्ने नेतालाई
भयले छायाँमा ढाकिदिन्छ
हत्या हुन्छ !
तर सपना कहिल्यै मर्दैन, दृष्टि कहिले हट्दैन
के यो तिम्रो बाँच्ने तरिका हो ?

स्वतन्त्रताको प्रतीक
‘स्ट्याचु अफ लिबर्टी’ उभ्यायौ,
वाक स्वतन्त्रताको बिगुल फुक्यौ,
विश्वलाई त्यसैको आवाज सुनायौ—
तर अझै पनि
रङ्गभेद, हिंसा, असमानताको गुनासो
तिम्रै आँगनबाट कतै सुनिन्छ ।

इतिहास र साँच्ची बनाउँदै
ओबामाजस्तो कालो राष्ट्रपति जन्माउँछौ,

राजनीति फरकधारको डोनाल्ड ट्रम्पलाई पनि राष्ट्रपति बनाउँछौ
तर महिला शासक अझै खोजिरहेको छौ 

वा नारीको नेतृत्वमाथि शङ्का गरिरहेका छौं ?
कसले लेख्ने हो त्यो इतिहास ?
जहाँ पुरुष र नारी
एकैसाथ उभिनेछन्, हिँड्नेछन्।

 

तिमी आविष्कारका जादुगर !

विज्ञान र प्रविधिका दाता
कम्प्युटर, मोबाइल, इन्टरनेट,
आकाशमा उड्ने कार,

आर्टिफिसियल इन्टेलिजेन्स
काल्पनिक संसार !


विश्वभरिका दिमाग तान्ने तिम्रो शक्ति—
तर सडकमा भोकै बस्ने पनि तिमीमै छन्
सम्पन्नताको साम्राज्यभित्रै
गरीबीको छाया 

बालबालिकाका स्कुलभित्र
गोली चलेर जीवन चुँडिन्छ,
ज्ञान खोज्दा मृत्यु भेटिन्छ—
त्यो तिम्रो कठोर यथार्थ !

तर त्यही धरातलमा
नयाँ सम्भावना पनि पलाइरहन्छ

तिमी अवसरै अवसरको भूमि हौ 

गर्न सक्नेलाई स्काई इज लिमिटछौ
नयाँ कर्मवीरलाई तिमी
खुलेआम स्वागत गर्छौ 

तिमी सारा संसारलाई
बास दिन्छौ, अवसर दिन्छौ

यो मेरो पनि भूमि हो भन्ने आभास दिन्छौ

धर्तिकै माता पिता छौ

धन्य अमेरिका तिमीलाई।


कर्मलाई पूजा मान्छौ
तिम्रो शब्दकोशमा
‘असम्भव’ भन्ने शब्द छैन रे !
त्यसैले—
त्यहाँ सम्भावना नभएको प्राणी
बस्नै सक्दैन रे !

 

ओ अमेरिका !
तिमी साँच्चै विचित्र छौ—
गजबकै छौ !