सालिनको हत्या कि आत्महत्या ?
सालिनको हत्या कि आत्महत्या ?
फाल्गुन १८, २०८० ( March 1, 2024-Friday)
कान्तिपुर

चितवन — गत शनिबार दस बजेतिरको कुरा हो– रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको छात्रावासमा बसेर ८ कक्षा पढ्दै आएकी १४ वर्षीय सालिन पोखरेल झुन्डिएको अवस्थामा मृत फेला परेको खबर जिल्ला प्रहरीमा पुग्यो ।
यो घटनामा सालिनको मृत्यु आत्महत्या नभएर बलात्कारपछि हत्या गरेर झुन्ड्याइएको हो भन्ने परिवारको दाबीपछि घटना झनै गम्भीर मात्रै बनेको छैन, यसबारे अनेकन शंका र आशंका पनि उब्जिन सुरु भएको छ ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका डीएसपी श्रीराम भण्डारीले भने प्रहरीले गहन अनुसन्धान थालिसकेको बताए । उनले भने, ‘होस्टेल कोठाको पंखामा झुन्डिएको अवस्थामा शव भेटिएको हो । हामीले सुसाइट नोट पनि बरामद गरेका छौं । मोबाइल पनि नियन्त्रणमा लिएका छौं । हामीले नांगो आँखाले हेर्दा देखिने सबै कुरा मुचुल्कामा उठाएका छौं ।’
प्रहरीका अनुसार सालिन मृत फेला परेको कोठामा पाँच जना छात्रा सँगै बस्थे । घटनापछि प्रहरीले उनीहरूसँग पनि सोधपुछ गरेको छ । ‘त्यस दिन खाना खाने बेला हुँदा सालिन जुत्ता धुँदै गरेको र पछि खाना खान आउँछु भनेकी रहिछन् । हामीले सीसीटीभी फुटेज हेरेका छौं । खाना खाएर यताबाट साथीहरू जाँदा बस्ने कोठाको ढोका खोल्न नसकेको देखिन्छ । पछि शिक्षक पनि आएर जोड गरेर ढोका खोलेको देखिन्छ । प्रहरीलाई विद्यालयबाटै खबर भएको हो,’ डीएसपी भण्डारीले भने । उनले सालिनका साथमा भेटिएको सुसाइट नोटमा ‘बाबाआमालाई सरी’ भन्ने उल्लेख गरिएको पनि बताए ।
प्रहरीले गम्भीर अनुसन्धान जारी रहेको बताए पनि मृतकका परिवारका सदस्यहरू विश्वस्त छैनन् । उनीहरूले यो घटना आत्महत्या नभएर हत्या भएको दाबी मात्रै गरेका छैनन्, घटनाको विषयमा सत्यतथ्य पत्ता लगाएर न्याय दिन माग गर्दै न्याय नपाउँदासम्म सद्गत नगर्ने अडान पनि राखेका छन् । मृतकका बुबा ललित पोखरेलले भने, ‘हामीलाई आएको प्रारम्भिक विवरणलाई आधार मान्दा उनको मृत्यु स्वाभाविक छैन । बलात्कारपछि हत्या भएको हो भन्ने हामीलाई लाग्छ ।’
गोरखा घर भए पनि उनी रत्ननगर–१५ माधवपुर मामा घरमा रहँदै आएकी थिइन् । बाबुआमाको सम्बन्धविच्छेदपछि उनको संरक्षकत्वमा आमा रहेकी थिइन् । परिवारका अनुसार सालिन साढे तीन वर्षकी हुँदा आमाबाबुको सम्बन्धविच्छेद भएको थियो । घटनापछि वैदेशिक रोजगारीमा दुबई रहेकी आमा नेपाल फर्केकी छन् । काठमाडौंमा रहेका बाबु ललितले कान्तिपुरसँगको टेलिफोन कुराकानीमा सम्बन्धविच्छेद भए पनि छोरीको पढाइ खर्च दुवै मिलेर बेहोरिरहेको बताए ।
तीनतले भवन रहेको स्कुलको तेस्रो तलामा छात्रावासमा बसेर सालिन दुई वर्षयता पढ्दै आएकी थिइन् । विद्यालय प्रशासनका अनुसार छात्रावासमा पाँच जना छात्रा र २६ जना छात्रहरू अलग–अलग बस्दै आएका थिए । प्रशासनले छात्र र छात्राहरूको छात्रावासको बीचमा च्यानलगेट रहेको बताएको छ । घटनाको तीन दिनपछि अर्थात् गत मंगलबार प्रहरीले विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, सहायक प्रअ कमल शर्मा पौडेल र होस्टेल इन्चार्ज किरणबहादुर अधिकारीलाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद दिएको छ ।
मृतक परिवारले प्रहरीले अनुसन्धान गर्न ढिलाइ गरेको भन्दै आशंका गरिरहेका छन् । मृतकका बाबु ललितले सुनाए, ‘उहाँहरूलाई नियन्त्रणमा लिन पनि प्रहरीले निकै आनाकानी गर्यो । हामीले यो घटनामा न्याय पाइँदैन भन्ने लागेर पनि भरतपुरमा पोस्टमार्टम गरेनौं । काठमाडौं ल्याएर पोस्टमार्टम गर्यौं । तर न्याय नपाउँदासम्म सद्गत गर्दैनौं ।’
प्रहरीले सुरुमा किटानी जाहेरीभन्दा पनि ज्यान मुद्दामा मात्रै उजुरी ल्याउन भनेपछि प्रहरी र मृतक परिवारबीच संशय सुरु भएको देखिन्छ । डीएसपी भण्डारीले भने, ‘घटनाको खुला अनुसन्धान गर्ने उद्देश्यले सुरुमै किटानी जाहेरी नदिए पनि हुन्छ, अनुसन्धानको उजुरी दिएपछि छानबिन गर्दा जे देखिन्छ, त्यसैका आधारमा किटानी जारी दिएर मुद्दा चलाउने गरिएको पनि छ । हामीले त्यही भनेका हौं । उजुरी नै लिन नचाहेको हैन ।’ बाबु ललितले मंगलबार सालिनको शव बुझेर काठमाडौंमा बुधबार पोस्टमार्टम गरेको बताए । प्रहरीले भने पोस्टमार्टम भएको जानकारी आए पनि रिपोर्ट प्राप्त भइनसकेको बतायो ।
घटनापछि विद्यालय बन्द रहेको थियो । शुक्रबारदेखि कक्षा ८ देखि १२ सम्मको पढाइ सुरु भए पनि आठ कक्षाभन्दा मुनिको पढाइ सुचारु भएको छैन । विद्यालयको शिक्षक–अभिभावक संघका सदस्य मोहन पाण्डेले भने, ‘यसबारेमा अनेक कुराहरू आएका छन् । सबै कुरा निवारण हुने गरेर सत्यतथ्य आउनुपर्दछ । चाँडोभन्दा चाँडो यो विषय न्यायपूर्ण तरिकाले टुंगिनुपर्दछ ।’
देवी शालीन पोखरेललाई अमेरिकाबाट चिठी
२५ फागुन २०८० (March 8, 2023)
प्रिय छोरी शालीन,
शालीन छोरी तिमी नेपालकी आमाकी छोरी हौ, तिमीले हामीले सधै आफ्नो गल्तीलाई “सरि” भन्नुपर्छ भनेर ज्ञान दियेर गयेउ, तिमीले सरि भन्नु जरुरी थिऐन, तिमीले त अरुले तिमीलाई गरेको पापमा, तिमीलाई सताएको पीडामा, तिम्रो भावनालाई आघात चोट पारेको कार्यमा, तिम्रो बालपनको निर्दोषतामाथि फाइदा उठाएको अन्यायमा सबैलाई सरी भनेर बिदा भयौ-तिम्रो त्यो महानता हो। क्षमा माग्नु नै मानवताको सबैभन्दा उच्च गुण हो भने आफूलाई सबैभन्दा खुसी बनाउने रहस्य र मन्त्र नै यही हो। हाम्रो ज्ञानमा तुवालो लागेको अवस्थाले हामीले आफ्नै ज्ञानको बलले यसलाई हटाउनुपर्छ, अँध्यारो युगको समय चक्रका कारणले हामी अब उज्यालो युगको मिरमिरेमा छौँ। सबै नेपाली जाति र मानव जातिलाई तिमीले महत्त्वपूर्ण सन्देश र प्रेम छोडेर गएकी छौ। तिमी अमरलोकमा हुनेछौ तिमी सृष्टि आमासँगै हुनेछौ तिमी हाम्रो भावना, मन र आत्मामा हुनेछौ सदा सदा ।
छोरी शालीन,
मानव एउटा पवित्र आत्मा हो। मानव कुनै साधारण प्राणी होइन — ऊ स्वयं भगवानको अंश हो, भगवानकै रूप हो, भगवानकै एक जीवित चिनारी हो। जब कुनै मान्छे आफ्नो जीवन अन्त्य गर्न खोज्छ, त्यो केवल शरीरको मृत्यु होइन; त्यो त ईश्वरकै अंशको हत्या हो, जुन सबैभन्दा ठूलो अधर्म, सबैभन्दा गहिरो पाप हो।
मानव जीवन सहजै प्राप्त हुँदैन — यो ब्रह्माण्डले दिएको अनन्त अवसर हो आत्मज्ञान, प्रेम र मुक्तिको। जसले यो जीवनलाई अस्वीकार गर्छ, उसले आफ्नै आत्माको यात्रालाई तोड्छ। त्यसैले शास्त्रले भन्छन्, “जो आत्महत्याको बाटो रोज्छ, ऊ कहिल्यै पुनः मानव देह पाउँदैन।” यो चेतावनी होइन, यो करुणा हो — ताकि हामी बुझौँ, यो मानव जीवन हाम्रो अन्तिम र अमूल्य अवसर हो।
यदि कहिल्यै तिमी निराशा, पीडा र अन्धकारमा डुब्दै जाँदैछौ भने, पहिले आफ्ना मातापिता — जो ईश्वरका प्रत्यक्ष रूप हुन् — उहाँहरूसँग क्षमा माग, आँसुले मनको भार पखाल। त्यस पश्चात् उहाँहरूको शरणमा जाऊ, जहाँ प्रेम, प्रकाश र पुनर्जन्मको आशा छ। आफ्नो मनको सबै कुरा खोल, उहाँहरुले तिमीलाई फेरि पुनर्जीवन र खुसी दिनुहुनेछ, त्यसपछि तिमीले कहिले पनि आत्महत्याको बाटो रोज्नु पनि छैन, सोच्नुपर्ने छैन
जीवन त्याग्नुभन्दा अघि सम्झ — यो देहमा भगवानको श्वास बगिरहेको छ। जब तिमी बाँच्न रोज्छौ, तिमी केवल आफैका लागि होइन, सम्पूर्ण सृष्टिको लागि बाँच्दैछौ, सृष्टिलाई तिम्रो आवश्यकता छ।
छोरी,
तिमी मातापिताको शरणमा पनि गइनौँ, तर तिमीले मातापितासँग यो गल्तीको लागि क्षमा माग्यौ, तिमीले जीवनको अर्थ बुझ्नु अघि नै, यो निर्णयमा बाध्य गराइएको हुनाले तिनी सिधै देवी माताको शरणमा जानेछौ – यही मलाई सन्देश छ।
याहाँ, यो युगमा सन्तानले मातापितालाई सरि भन्दैनन, क्षमा माग्दैनन् – नत मातापिताले सन्तानहरुलाई नै, न साथिले साथीलाई, न शिक्षकले विद्यार्थीलाई- नत विद्यार्थीले शिक्षकलाई, न श्रीमानले श्रीमतीलाई- नत श्रीमतीले श्रीमानलाई, न प्रेमीले प्रेमीलाई नै, न कर्मचारी ले हाकिमलाई – नत हाकिमले कर्मचारीलाई, न नेताले कार्यकर्तालाई- नत कार्यकर्ताले नेतालाई नै, न एक नेताले अर्कोलाई नै, न त एउटा दल वा समूहले अर्को दल वा अर्को समूहलाई, न एउटा संगठनले अर्को संगठनलाई, न एक परिवार ले अर्को परिवारलाई नै, एक मानवले अर्कोलाई नै, न एउटा जातिले अर्को जातिलाई, न एउटा धर्मले अर्को धर्मलाई, न एउटा राष्ट्रले अर्को राष्ट्रलाई, कोही सरी भन्दैनौ छोरी हामी आफ्नो गल्तीलाई, कोही क्षमा भन्दैनौ छोरी ! सायद हामी ठान्छौँ, जहाँ मानवलाई ईश्वर भनिएको छ। म स्वयम् नै ईश्वरीय साँच्चै स्वामी हुँ, म भन्दा ठूलो कोही छैन- मानौँ गल्ती हामी कोही पनि कहिल्यै गर्दैनौँ तर यो बुझ्दैनौँ गल्ती नै सिक्ने वा सुध्रिने सबैभन्दा ठूलो अवसर र ज्ञान हो भनेर- कृतज्ञ हुन बिर्सन्छौं।
हामी सबैले हामी र हाम्रो मानवता र संस्कार भुलेउ-
तर अब तिमीले छोडेको ज्ञानले हाम्रो आफ्नै विशिष्ट संस्कार बिउझाउने छौ ।
तिमीलाई हामीले कहिल्यै भुल्ने छैनौ, अर्को १५० वर्ष पछिका हाम्रा सन्तानहरूले पनि तिमीलाई ” सुन्दर देशका शालीन हामी ” भन्ने स्लोगान सम्झिरहनेछन, तिमी आफ्नै स्लोगान परिचित हुने छौ। सबैले क्षमाको अर्थ बुझ्नेछन्।
मलाई थाहा छ; मैले लेखेको पत्र तिमी पढ्न सक्तिनौ ।
त्यसैले म तिम्रा स्कुलका साथीहरू र अरू धेरैधेरै सुप्रिय र शालीन छोरीहरूलाई र तिम्र गुरु र गुरुआमाहरुलाई अमेरिकाबाट यो पत्र लेखिरहेछु ।
तर तिमीले अत्मालोकमा यसको अनुभूति गर्दै हामीलाई प्रेम र आशिर्वाद पठाउनेछौ नै ।
तिमीलाई धेरै प्रेम आशीर्वाद र शान्त आत्मलोकको यात्राको शुभकामना!!
कविन्द्र अङ्कल
अमेरिका।
शालीनका स्कुलका साथीहरू, प्रिय छोरीहरूलाई प्यार ! आदरणीय गुरु र गुरुआमाहरुलाई नमस्कार !
शालीन देवी थिइन्, भगवती थिइन्, उनले आफ्नो कार्य सम्पन्न गरेर हामीलाई ठूलो जिम्मेवारी छोडेर गएकी छिन् ।
अज्ञानताको कारण निर्दोष बालबालिकाहरू हत्या तथा बलात्कारजस्ता अपराधहरू नेपालको मात्र नभएर विश्वभरि व्याप्त हुँदै गएको डरलाग्दो समस्या हो । मानवतामाथिको एक गम्भीर प्रश्न हो ।
छात्राबास र पाठशालाजस्ता स्थानहरू हाम्रा नयाँ पुस्तालाई असल शिक्षा दिने, अनुशासन र सच्चरित्र सिकाउने, ज्ञान र प्रेरणा दिने, जीवनको सत्मार्ग देखाउने, सद्भाव र प्रेम सिकाउने तथा सुरक्षा दिने स्थानहरू हुन् । उनीहरुलाई त्यहाँ ज्ञानको पुस्तक खोलेर शारीरिक, नैतिक, आध्यात्मिक रूपमा सम्पन्न र तन्दुरुस्त बनाउनुपर्छ तर, हाम्रा शिक्षालयहरू किन दिनानुदिन असुरक्षित भएरहेका छन् अनि सुरक्षाका अनुभूति कतै पनि बालबालिकाले किन महसूस गर्न सकिरहेका छैनन् ? सही रूपमा यस्ता ज्ञान गरिमाका कार्यहरू किन भइरहेका छैनन् । शालीनले छोडेर गएको जिम्मेवारीपूर्ण रूपमा समाधान गर्न नसकिएका प्रश्न यही हो । शरीरको बलाात्कार मात्र बलात्कार हो भन्नु अहिले भौतिक प्रमाण खोजिने हिसाबले ठीक होला तर मानसिक, भावनात्मक, चारित्रिक र नैतिक बलात्कार पनि त्यत्तिकै गम्भीर अपराधहरू हुन् ।
प्रिय छोरीहरू,
आदरणीय नारीजन,
शालीनको पीडा सम्पूर्ण आमाहरूको पीडाको कथा र व्यथा हो । उनको पीडा र बाध्यता सम्पूर्ण किशोरीहरूको हो, सारा छोरीहरूको हो । हो, उनको पीडा सम्पूर्ण नारीहरूको हो ।
हाम्रो समाज, नेपाल सरकार, राज्य र हामी पनि, मानव जाति कुनै रूपबाट दोषी छौँ नै- यसको दण्ड र सजाय हामी सबैले भोग्नुपर्छ। ।
आजका नाबालक र किशोरीहरू भोलिका महान् आमाहरू हुन् । भोलिका सबै आमाहरू मानव जातिकै सृष्टि थाम्ने र विश्व हाँक्ने विपुल कडीहरू हुन् । आजका बालिका, किशोरी र युवतीहरू जोगिएनन् भने भोलिका महान् आमाहरू पनि जोगिँदैनन् । भोलिका आमाहरू जोगिएनन् भने मानवजातिको सृष्टि नै समाप्त हुनेछ । शालीनले लिएको कठोर बाटोको अप्रिय निर्णयले दिएको होस् वा हिजो तपाईँहरू जस्तै सयौँ किशोरी नमिता,सुमिता, निरा, निर्मला पन्त, एवम्
भागीरथीहरू माथिका जधन्य अपराधरूले दिएको एउटै सन्देश नै यो हो; “उनीहरूलाई न्याय आवश्यक छ” । न्यायको स्पष्ट र निर्मम बाटो खोजिनुपर्दछ । यो अब रोकिनुपर्छ।
यस मानव जीवनका सबै पीडाहरू, अन्याय र अन्धकारहरूको एउटै समाधान छ — आध्यात्मिक पुनर्जागरण।
हामीले पुनः आफ्नो हृदयमा प्रकाश जलाउनुपर्छ — आध्यात्मिक बन्ने, चरित्रवान बन्ने, सत्य र प्रेमका मार्गमा चल्ने।
आफूलाई र अरूलाई आत्माका आँखाले हेर्ने, हृदयबाट माया गर्ने, ध्यानमार्फत जीवनको वास्तविकता बुझ्ने, र प्रत्येक प्राणमा भगवानको प्रतिबिम्ब देख्ने — यही हो मानव जीवनको परम साधना।
नारीलाई केवल देहको रूपले होइन, देवीको स्वरूपले हेर्ने चेतना जगाउन अब ढिलो गर्न हुँदैन।
उनीहरू सृष्टिको मूल स्रोत हुन्, ममताको महासागर, सन्तुलन र सौन्दर्यका प्रतीक।
तर दुर्भाग्यवश, हाम्रो समाजले यो दिव्यता बिर्सिसकेको छ।
त्यसैले म आज सबै आदरणीय नारीहरूलाई सम्झाउन चाहन्छु —
तपाईंहरू स्वयं शक्तिस्वरूपा आह्रित देवीहरू हुनुहुन्छ, आत्मसंयम, करुणा र सत्यको प्रतिरूप बन्नुहोस्।
तपाईँहरूको तेज र सन्तुलनले नै समाजमा पुनः प्रकाश फैलाउनेछ।
हामी अहिले भौतिक सुखको मोहमा डुब्दैछौं —
पदार्थको सुखलाई जीवनको अर्थ ठान्दैछौं, र आत्मालाई बिर्सिँदैछौं।
यो मार्ग विनाशको हो, मानवताको पतनको हो।
अब समय आएको छ — हामी सबैले आत्माको आवाज सुन्नु, परमात्माको प्रकाशमा फर्कनु।
मानव भएर जन्मिनु केवल शरीरको कुरा होइन — यो आत्माको अवसर हो, चेतनाको यात्रा हो।
हामीलाई न त अत्याचार गर्ने अधिकार छ, न त अत्याचार सहेर मौन बस्ने छुट।
जबसम्म एक किशोरी पनि डरले होइन, मुस्कानले फुल्न पाउँदैन, तबसम्म हाम्रो समाजले आध्यात्मिकता बुझेको हुँदैन।
जबसम्म प्रत्येक आमाको आँखा हाँसोले उज्यालो हुँदैन, तबसम्म मानवता अधुरो रहन्छ।
त्यसैले आज —
नारीको सम्मानमा, मानवताको पुनर्जन्ममा, र आत्माको जागरणमा
म यो भावनात्मक, श्रद्धामय अगाडि नै रचित कविता
प्रिय छोरी शालीन लगायत सम्पूर्ण आदरणीय नारीहरूलाई समर्पण गर्दछु —
देवीका रूपमा, सृष्टिको केन्द्रका रूपमा,
मानवताको उज्यालो बन्ने प्रेरणाका रूपमा।
नारी सृष्टि र सृजना
नारी
छोरी हुन्, दिदीबहिनी र भान्जी हुन्
उनी मातृशक्ति हुन् आमा हुन्
धेरै धेरै भूमिका र हैसियतकी
एउटै तत्व उनी नारी हुन्
अझ उनी
नारी स्वरूपा दिव्यतत्व देवी हुन् !
नारी प्रेम र सद्भाव हुन्
खुसी र हाँसो हुन्
शक्ति र पूजा हुन् ।
नारी सृष्टि र सृजना हुन्
यसका स्वयं स्रोत हुन् !
छोरीलाई साथी बनाएर हेर
मायाँ गरेर हेर
खुसी बाँढेर हेर
उत्साह र उमङ्ग दिएर हेर !
तिमी सबथोक पाउने छौ !
ए, छोरीलाई
अपहेलना गर्ने समाज !
संवेदित भएर सुन !
छोरी कुनै
भ्रूणमा नै अन्त्य गरिने जीवन होइन
बहिस्कार गरिने पहिचान होइन
हेला गरिने जात होइन
भेदभावको वस्तु होइन
बलात्कृत हुने शरीर होइन
हो बलात्कृत हुने शरीर होइन उ
मनोरञ्जनकी साधन होइन उ
नारी बजारमा किनबेच गरिने कुनै बस्तु होइन !
नारी कुनै कमजोर तत्व होइन ।
नारी सृष्टिकर्ता हुन्
मस्तिष्ककी ऊर्जा हुन्
हृदयकी स्पन्दन हुन्
जीवनकी गति र प्रगति हुन् !
तिमीले
कसैकी छोरीको गर्भबाट जन्म लियौ
दशधारा दुध पिउँदै हुर्कियौ
सम्मान गर प्रत्येक नारीलाई ।
कोही किन छोरीको अपमान र हेला गर्दै
अति नै बोझ मान्दै
मार्न खोज्दैछन् ?
दासत्वका जन्जिरले बाँध्न खोज्दैछन् ?
तिनको अस्तित्व सिध्याउन खोज्दैछन् ?
अब
विवेकहीन मार्ग त्यागी
छोरीलाई हिम्मत दिऊँ
सुरक्षित भविष्य दिऊँ
साहस दिऊँ
उनलाई जुझारु बनाऊँ
नारी आदिशक्ति हुन् !
हर सृष्टिका अतीत हुन् ।
सबै सम्भावनाको पृष्ठभूमि हुन्
नारी वर्तमान र भविष्य हुन् !
नारी हरेक सफलताका सहकर्मी हुन
राष्ट्र हाँक्ने शक्ति हुन्
विश्वका नायिका हुन्
उनी सद्भावले विश्व जित्ने पराक्रम हुन् !
्
नारी परिवर्तन हुन्
चमत्कार हुन्
नारी आदर्श
उनी एउटा युग हुन, एउटा युग
त्यसैले
नारीको पहिचान गरौँ
नारीको महिमा बुझौं …. !
हो नारीलाई पहिचान गरौँ उनको महिमालाई बुझौं …. !
उनको अतुलनीय
समर्पण र योगदानलाई
स सम्मान गरौं
किनकी नारी सृष्टि र सृजना हुन्
उनी सृष्टि र सृजना हुन्
हजुरहरूको प्रेम, आशीर्वाद र सहभागिताको सदा अपेक्षा !
