Letter to Samaya

 समयलाई चिठी

समय प्रणाम !

तिमी अमर चक्रका धनी, अनन्त यात्राका संचालक।
मैले तिमीलाई लामो पत्र लेखेको छु, तिम्रो अन्तै छैन त्यही भएर पत्र पनि सकिएको छैन- त्यसलाई पछि पठाउनेछु। 

अहिलेलाई, आजभन्दा २६ वर्ष अगाडि जब मैले छ महिनाभित्र भेट्नुपर्ने आफ्नो प्रेमिकालाई तिमीले तीन वर्षसम्म प्रतीक्षामा राख्यौ, त्यही लामो प्रतीक्षाको अन्तरालमा म प्रेमिकाको माध्यम भएर आत्माको मौन प्रार्थनामा बसेर लेखेको छोटो हस्तलिखित पत्र वास्तवमा मेरो मात्र होइन—जीवन र सृष्टिको लयसँग मिलेर तिमीलाई समर्पण गरिएको वाणी थियो।

हामीलाई अहिले मात्र थाहा भइरहेको छ—हाम्रो प्रेम र जीवनका गर्भबाट प्रेम ज्ञान र प्रेम उत्पत्ति मात्र होइन, युगका सन्देशहरू पनि जन्मिरहेका रहेछन्। ज्ञानले सधैं भन्छ—“सबै तिम्रै योजनामा चल्छ”—तर अहंकारी हृदय प्रायः स्वीकार गर्न ढिलो गर्छ। त्यसैले जीवन अटेरी भइ रहन्छ, तिम्रो अनन्त लयमा तर पनि आफ्नै भ्रममा।

तर, समय, आज म बिनम्र हुँदै तिमीलाई विश्वास दिलाउँछु—
हृदयमा संचित सबै सत्य, सबै रहस्य, सबै प्रेमका कुरा उपयुक्त क्षणमा तिमीलाई नै समर्पण गर्नेछु।

अहिले भने, छोरीलाई लेखिएका पत्रहरूभित्रको हरेक शब्द, भाव र इच्छाहरूलाई तिमीले दृष्टि दिन्छौ, त्यसमा तिम्रो कृपा भरिदिन्छौ भने विश्वास लिएको छु।
त्यसरी मात्र तिमीले मलाई तिमीसँगै निरन्तर बगिरहने अनन्त यात्रामा ग्रहण गर्छौ भन्ने आकांक्षा, पूर्ण प्रार्थना र पूर्ण कामना गर्दछु। 

      हार्दिक आभार

      समयको आज्ञाकारी 

             – कवीन्द्र